सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइँदै

२०७८ असार २५, १०:५७ रासस

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान र विद्यालयका समायोजनको प्रक्रिया अगाडि बढाइएको छ। 

सो कार्यका लागि उपसमिति (कार्यदल) गठन गरी कार्य अगाडि बढाइएको हो। शिक्षा विभागद्वारा जारी गरिएको कार्यविधि, निर्देशिका र परिपत्रका आधारमा शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्यलाई अगाडि बढाइएको नगर शिक्षा समितिका सदस्य लोकेन्द्र ऐरीले बताए।

शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनका लागि गठित उपसमितिले नगरप्रमुख दिलबहादुर ऐरलाई प्रतिवेदन बुझाएको छ। बुझाइएको प्रतिवेदनका आधारमा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको कार्यलाई अगाडि बढाइने तयारी भइरहेको उनले बताए। 

“शिक्षक दरबन्दी मिलानको आधार विद्यार्थी सङ्ख्यालाई लिएका छौँ”, उनले भने, “प्रतिकक्षामा न्यूनतम ५० विद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ।” विद्यार्थी सङ्ख्याकै आधारमा शिक्षक दरबन्दी मिलानको कार्यलाई समेत अगाडि बढाइने उनको भनाइ छ।

“कुनै विद्यालयमा थोरै शिक्षक धेरै विद्यार्थी र कुनैमा थोरै विद्यार्थी धेरै शिक्षक कार्यरत रहेको उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ”, उनले भने, “विद्यार्थीको अनुपातमै शिक्षक दरबन्दी मिलान हुन्छ।” उनका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै रहेका र नजिकै अर्को सामुदायिक विद्यालय रहेको अवस्थामा थोरै विद्यार्थी रहेका विद्यालयलाई समायोजन गरिने छ। 

विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानका लागि कार्यविधि र अन्य मापदण्ड निर्धारण गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ। शिक्षालाई गुणस्तरयुक्त र विद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनाउनका लागि यस कार्यले सघाउ पु¥याउने नगरप्रमुख ऐरले बताए। नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन्। 

आधारभूत तहमा अध्ययन हुने १९ र माध्यमिक तहमा अध्ययन हुने १३ विद्यालय छन्। बालविकास केन्द्र ६५ वटा रहेका छन्। आधारभूत तहमा स्वीकृत दरबन्दी ८९ र माध्यमिक तहमा आठ रहेका छन्। यसैगरी राहत कोटा आधारभूत तहमा ७५ र माध्यमिक तहमा १६ रहेका छन्। निजी स्रोतमा कार्यरत शिक्षकको सङ्ख्या भने ८८ रहेको छ। 

चालु शैक्षिक सत्रमा आधारभूत तहदेखि माध्यमिक तहसम्ममा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने १६ हजार १७ रहेको छ।

कमेन्ट लोड गर्नुस