कञ्चनपुरमा कुटपिटपछि युवक मृत्यु प्रकरणः शव परीक्षण भयो, एकै परिवारका ५ जनामाथि अनुसन्धान हुँदै

कञ्चनपुरः कञ्चनपुरमा कुटपिट भएको भोलिपल्ट मृत्यु भएका भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको शव परीक्षण भएको छ। आइतबार राति कुटपिटमा परेका उनको सोमबार बिहान मृत्यु भएको थियो। घाइते अवस्थामा रहेका उनको महाकाली अस्पताल लग्दै गर्दा बाटोमै ज्यान गएको थियो।
त्यसपछि महाकाली अस्पतालमा राखिएको उनको शवको मंगलबार पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए। ‘परीक्षण भएपनि शव आफन्तले लगेका छैनन्। उनका दाई जिल्ला नपुगेकाले उनी आएपछि मात्रै शव लगेर अन्तेष्टि गर्ने आफन्तले भनेका छन्’ डीएसपी न्यौपानले भने।
उनका अनुसार हत्या नै भएको हो भनेर अहिले भन्न सकिने अवस्था छैन। शवबाट लिएका नमूना परीक्षणका लागि पठाइएकाले अनुसन्धानपछि मात्रै हत्या पुष्टि हुने डीएसपी न्यौपानले बताए।
तर स्थानीयले मृतक बोहरा र स्थानीय प्रकाश पालबीच कुटपिट भएको बताइरहेका छन्। उनीहरुको मदिरा सेवनपछि एकआपसमा कुटपिट भएकोे भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले समेत बताएका थिए।
मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका थिए। पालसहित उनका परिवारका ५ सदस्यले कुटपिट गर्दा बोहराको मृत्यु भएको आफन्तको आरोप छ।
एकै परिवारका सदस्यहरु मिलेर कुटपिट गरेको आरोपपछि प्रहरीले प्रकाश पालसहित उनका बुवा बुवा हंश पाल, श्रीमती गोमती पाल, बुहारी र ज्वाई लालसिंह बोहरालाई पक्राउ गरेको छ। ती सबै विरुद्ध मृतकका परिवारले किटानी जाहेरी समेत दिएको प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए।
ती सबैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


