सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमणमा घटेपछि अस्पताल अनुगमनमा व्यस्त सुदूरपश्चिमका मन्त्री

२०७८ असार २१, ०७:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव उच्च बिन्दुमा रहेका बेला सुदूरपश्चिम सरकार सम्पर्कबिहीन बन्यो। सुदूरपश्चिमेली जनताले अनेकन सास्ती खेपे। प्रदेशमा अस्पतालहरुको अवस्था दयनिय बन्यो। कतिले अक्सिजन पाएनन् त कतिले भेन्टिलेटर । प्रदेशमा हजारौंमा संक्रमण फैलियो, कैयौंले अक्सिजन अभावकैकारण अकालमै ज्यानसमेत गुमाए। कोरोनाको दोस्रो लहरको सामना कसरी गर्ने भन्नेतर्फ प्रदेश सरकारको ध्यान खासै केन्द्रित हुन सकेको थिएन।

जसोतसो सीमामा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गरिए। कोरोना संक्रमण दर उच्च रहेका बेला सरकारका मुख्यमन्त्री र मन्त्रीहरू राजनीतिक खिचातानीमै ब्यस्त रहे। प्रदेशमा अक्सिजन नपाएर संक्रमित छटपटी रहँदा प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट विमुख जस्तै बन्यो।

प्रदेश सरकार संक्रमितहरूका लागि अक्सिजनको जोहो गर्न बेवास्ता गरेपछि विभिन्न संघ–संस्था अगाडि बढे। कोरोना संक्रमण उच्च बिन्दुमा पुगेका बेला न सीमा क्षेत्रमा कडाइ गरियो न स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्थापन गरियो। जनता भने प्रदेश सरकारलाई खोजिरहे।

प्रदेशभरका सबै अस्पतालमा अक्सिजनको चरम अभाव भएको थियो। त्यो बेला सुदूरपश्चिम सरकारको सक्रियता खासै देखिएन्। जनताले अक्सिजन माग गरिरहेका बेला सरकार भने सत्ता र संसद्को जोडघटाउमै केन्द्रित रह्यो। तर, अहिले कोरोनाको दोस्रो लहर विस्तारै कम हुँदै गइरहेको छ। पछिल्लो समय संक्रमणको अवस्था विस्तारै ओरोलोतर्फ उन्मुख छ। संक्रमण तुलनात्मक रुपमा केही कम भएसँगै सुदूरपश्चिम सरकारका मन्त्रीहरु भने अस्पताल अनुगमनमा निस्किएका छन्।

असार २ गते सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र राज्य मन्त्री मिना साउँदले कैलालीको टीकापुर अस्पतालको अनुगमन गरे। अनुगमनका क्रममा मन्त्रीहरुले टीकापुर अस्पतालमा ५० बेड थप गर्ने, कम्तिमा १५ बेड भेन्टिलेटरको व्यवस्था गर्ने, टिकापुर अस्पतालको प्रयोगशालालाई थप व्यवस्थित गर्ने, टिकापुर अस्पतालमा दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र स्वास्थकर्मीको विमा तथा सुविधामा करारमा कार्यरत कर्मचारीलाई पनि समेट्नेमा प्राथिमकता दिइने मन्त्री खड्काले आश्वासनसमेत दिए।

यस्तै सोमबार मन्त्रीद्वय खड्का र साउँद अछाम पुगेका छन्। अछाम पुगेर मन्त्रीद्वय खड्का र साउँदलले अछामको बयालपाटा अस्पतालको अनुगमन गरे । मन्त्रीद्वय खड्का र साउँदसहित अनुगमन टोलीमा जिल्ला समन्वय समिति अछामका संयोजक नर बहादुर कुँवर, साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर उपप्रमुख बिर्मला बुढा थापा पनि सहभागि बने।

अछाममा पनि सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले अस्पतालको दीर्घकालीन व्यवस्थापनका लागी प्रदेश सरकार गम्भीर रहेको दाबी गरे। पहाडी जिल्लामा नागरिकको स्वास्थ्य उपचारमा प्रदेश सरकारले सहज बनाउने भन्दै उनले भाषणसमेत गरे। बयालपाटा अस्पताललाई ब्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक रणनीति तथा कार्य योजना तयार गरिरहेको समेत उनले बताए।

यस्तै राज्यमन्त्री साउँदले पनि बयालपाटा अस्पताललाई आर्थिक अभाव हुन नदिने भन्दै आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। बयालपाटा अस्पताल अछाम जिल्लाको मात्र नभई प्रदेशकै गौरवको रुपमा रहेको र यस क्षेत्रका नागरिकको स्वास्थ्यका लागी ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकाले उनले दाबी गरेकी छन्।

कमेन्ट लोड गर्नुस