कञ्चनपुरमा मदिरा सेवनपछिको कुटपिटबाट एक जनाको मृत्यु, ५ जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर: कञ्चनपुरमा मदिरा सेवनपछि भएकाे विवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति भएको कुटपिटपछि जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको ज्यान गएको हो।
कुटपिटपछि घाइते भएका बोहराको उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानीयका अनुसार बोहरा र स्थानीय प्रकाश पालबीच कुटपिट भएको थियो।
उनीहरुको मदिरा सेवनपछि एकआपमा कुटपिट भएकोे भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले बताए। अहिले मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन्।
मृत्युपछि आरोपित प्रकाश पालसहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। ‘अहिले पाँचै जनामाथि अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि मात्रै हत्या भएको हो या होइन भनेर भन्न सकिन्छ’ उनले भने।
बोहराको शव महाकाली अस्पतालमा राखिएको छ।


