सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सरुवा रोगबाट बच्न गाउँमा सरसफाइ

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार २१, ०९:१७ रासस

कैलालीः कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन्। स्थानीय युवाहरुले सडकमा रहेका झाडी सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र नागरिकलाई सरसफाइबारे जागरुक गराउने काम थालेका हुन्। 

वनगाउँ गाउँका सबै सडक सरसफाइ गरिएका छन्। बर्सातको समय भएकाले सडकमा झारफात तथा फोहर हुने, लामखुट्टे, सर्पदंश तथा अन्य रोगको सङ्क्रमण हुनसक्ने भएकाले घर आँगनसँगै सडक सरसफाइ गरिएको गाउँका बडघर रामकृष्ण चौधरीले बताए। 

“स्वस्थ हुनका लागि व्यक्ति सफा भएर मात्र हुँदैन्। यसका लागि वरिपरिको वातावरण पनि सफा स्वच्छ हुनुपर्दछ”, बडघर चौधरीले भने, “एक व्यक्ति नभई गाउँ समाज पनि सफा हुनुपर्दछ भनी हामी गाउँ नै सफा राख्ने अभियानमा जुटेका हौँ। बर्सातमा लामखुट्टेको टोकाइबाट धेरै रोग लाग्छन्। त्यसबाट बच्नसमेत सहयोग पुग्छ।”

स्थानीयवासीले पहिलो दिन तीन किलोमिटर सडक सरसफाइ गरेका छन्। बर्सातको समयमा झाडापखालाजन्य  सरुवा रोगका प्रकोप हुन सक्ने भएकाले स्थानीय ८५  युवाको सहयोगमा सडक सरसफाइ भइरहेको स्वास्थ्य स्वयंसेविका जुगनीदेवी चौधरीले बताए। 

“अन्य समयभन्दा फोहोर पानी, खानपानमा ध्यान नदिँदा झाडापखाला, भाइरल ज्वरो जस्ता विभिन्न खाले रोग लाग्ने डर रहन्छ”, उनले भने, “त्यसैले हामीले गाउँमा रहेका झाडी, पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ भनी सल्लाह ग¥यौँ। सबै सहमत भए, खेतीपाती सकेपछि गाउँमा सरसफाइ अभियान चलेको छ।”

सडक सरसफाइ नियमित कार्य भएकाले यसको आगामी दिनमा पनि नियमित सरसफाइ गर्ने स्थानीयवासीको भनाइ छ। सरसफाइ घरमा मात्र गरेर स्वस्थ नहुने भएकाले गाउँ नै स्वच्छ र स्वस्थ राख्नका लागि गाउँलेहरुको संयुक्त सहयोगमा सरसफाइ गरिएको स्थानीयवासी रुपा चौधरीले बताए।

“गाउँको विकास पूर्वाधार निर्माण, बाटोघाटो बनेर मात्र हुँदैन, गाउँ सफा पनि हुनुपर्छ”, रुपाले भने, “स्वास्थ्य पहिलो प्राथमिकता रहेछ भन्ने कुरा समुदायमा कोरोना सङ्क्रमण फैलिएपछि सबैले बुझेका छौँ। अब रहनसहन, खानपान र सरसफाइमा ध्यान दिनेबारे रहेक बैठक, छलफलमा कुरा उठ्न थालेको छ।”

बडघरको नेतृत्वमा गाउँमा छलफल गरी आफ्नो गाउँ सफा राख्ने जिम्मा आफ्नै हो भनी स्थानीयवासीले सरसफाइ अभियान, बिग्रिएका सडक निर्माण जस्ता कार्यमा आफैँ जुट्ने समेत बताएका छन्। 

स्वास्थ्यकर्मीले समेत ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य जनचेतना जगाउने गरेका छन्। “हामीले हरेक आमा समूहको बैठक, गाउँघर क्लिनिक, खोप कार्यक्रममा सरसफाइसम्बन्धी छुट्टै ज्ञान दिने गरेका छौँ। 

बाँच्नका लागि सरसफाइको महत्वबारे ज्ञान दिने गरिएको छ”, धनसिंहपुर स्वास्थ्य चौकीका इञ्चार्ज केवलसिंह सार्की भन्छन्। “नागरिक विस्तारै सचेत बन्दै गएका छन्। सफा वातावरणमा हुर्कने बच्चा र त्यो परिवार स्वस्थ हुन्छ। गाउँघरमात्र होइन घरमा खानेकुरा पनि सफा र स्वस्थ खानेबारे समेत सचेत हुन आवश्यक छ।”

कमेन्ट लोड गर्नुस