बाजुरामा बाढीले ९९ परिवार विस्थापित, जंगलको वास
बाजुरा: लगातारको वर्षाका कारण बाजुराको हिमाली गाउँपालिका वडा नं ५ का करीब ९९ घर परिवार विस्थापित भएका छन्। बस्ती आसपासमा पहिरो जान थालेपछि वडा नं ५ क्युडिका ९९ घर परिवार विस्थापित भएका हुन्।
पहिरोको जोखिम वढेपछि स्थानीयलाई त्यो ठाउँबाट अन्यत्रै सारिएको गाउँपालिकाले जनाएको छ। विस्थापित भएकाहरु गाउँ भन्दा एक घण्टाको पैदल दुरीमा पर्ने जर्गाउको जंगलमा पाल टाँगेर वसिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए।
पहिरोका कारण गाउँ नै जोखिममा परेपछि वसाई सर्नुवाहेक अन्य कुनै विकल्प नभएको विस्थापित ज्ञानी बुढाले जानकारी दिए। घर वगाएपछि खाधान्न र लगाउने कपडासमेत अभाव भएको उनको गुनासो छ।