सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा असार मसान्त सम्म थपियो निषेधाज्ञा

२०७८ असार २०, ०१:१३ खबर संवाददाता

दार्चुला: दार्चुलामा असार मसान्त सम्मका लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाईरसको संक्रमणदर केही घटेको भएपनि जोखिम कायमै रहेको भन्दै असार मसान्त सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ। 

पहिलाको तुलनामा खुकुलो पार्दै असार मसान्तसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। सार्वजनिक सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएर सीट क्षमता अनुसार जिल्लाभरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने उनले बताए। 

यस्तै होटेल, मदिरा पसल बाहेक अन्य सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि दिउँसो १ बजे सम्म सञ्चालन गर्न पाइने जारी आदेशमा उल्लेख गरिएको छ। यसैगरी धार्मिक कार्यहरु, विवाह, ब्रतबन्ध जस्ता कार्यहरु गर्दा न्यूनतम मानिसहरुको सहभागितामा गराउनुपर्ने जनाइएको छ। 

यसैगरी निषेधाज्ञा अवधिभर सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम लगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।  

कमेन्ट लोड गर्नुस