सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकी नाका भएर भारत छिर्न पीसीआर रिपोर्ट अनिवार्य

२०७८ असार १९, ११:२६ खबर संवाददाता

धनगढी: गड्डाचौकी नाका भएर भारत छिर्न पीसीआर रिपोर्ट अनिवार्य माग्न थालिएको छ।

सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका अनुसार मंगलबारदेखि नेपालीहरूबाट ७२ घण्टाभित्रको परीक्षण रिपोर्ट माग्न थालिएको हो । नाकामा मंगलबारदेखि एकाएक परीक्षण रिपोर्ट माग्न थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामको खोजीमा जानेहरू बढी समस्यामा छन् ।

नाकामा पुगेकाहरू पुनः परीक्षण गराउन फर्किनुपर्ने बाध्यता रहेको छ। ‘भारततर्फ जानेको संख्या बढेका कारण रोक्नका लागि यस्तो गरेको पनि हुन सक्छ,’ सशस्त्र प्रहरीका एसपी वीरेन्द्र ऐरले भने।

सरकारले गड्डाचौकीलगायतका नेपाल र भारतका प्रमुख सीमानाकामा आवागमन खुला गरेपछि सामान्य स्वास्थ्य जाँच पनि बन्द गरिएको थियो। कोरोना संक्रमणको दोस्रो लहर बढिरहेका बेला दुवैतर्फ निषेधाज्ञा सुरु भएपछि भारततर्फ जानेको संख्या कम थियो। केही दिनयता संक्रमणको दर घटेपछि भारत जानेको संख्या बढेको छ।

भारतीय नागरिकलाई नेपाल प्रवेश गर्दा गत वर्षदेखि नै कोरोना परीक्षण रिपोर्ट र सीसीएमसी फाराम भर्नुपर्ने अनिवार्य गरिएको छ। यही किसिमको रिपोर्ट माग गर्दै भारतले पनि परीक्षण रिपोर्ट अनिवार्य गरेको हुन सक्ने सुरक्षाकर्मीहरू बताउँछन्। कैलालीको गौरीफन्टा नाकामा भने पारि रिपोर्ट माग नगरिएको सशस्त्रका एसपी ऐरले बताए।
 

कमेन्ट लोड गर्नुस