सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको अस्पतालमा बैतडीका कलौनी ५ दिनदेखि अचेत, भिरबाट लडेर कि हत्या प्रयास ?

२०७८ असार १८, ११:३४ रक्षा भट्ट

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका–५ नेटामा १३ असारमा बाख्रा चराउन गएका ३२ वर्षीय गणेशदत्त कलौनी अबेरसम्म घर फर्किएनन्। परिवारका सदस्यले गाउँलेले उनको खोजी सुरु गरे। गाउँकै प्रेम चन्दले गणेश भीरबाट लडेर अचेत अवस्थामा रहेको खबर सुनाए। गणेश बेहोस अवस्थामा नजिकैको गणमेश्वर मन्दिर नजिक सडक छेउमा फेला परे। 

टाउकोबाट रगत बगिरहेको र आँखामा चोट लागेको देखेपछि परिवारका सदस्य अत्तालिन्छन्। वडामै रहेको बलारा प्रहरी चौकीमा खबर गरियो र कलौनीको अवस्था बताइयो। प्रहरीले सामान्य घटना हो भन्दै उपचारका लागि पठाइदिएको बताउँछन् गणेशका दाजु नन्दराम कलौनी। ‘गणेशको अवस्था हेर्दा कसैले कुटेको जस्तो देखिन्थ्यो। अवस्था गम्भिर थियो। तर प्रहरीले यसबारे सामान्य अनुसन्धान पनि नगरी उपचारका लागि पठायो,’ उनी गुनासो गर्छन्। 

प्रेम चन्दमाथि नै शंका !

गणेश भेटिएको खबर गर्ने प्रेम चन्दमाथि नै शंका भएको गणेशका दाजु नन्दराज बताउँछन्। प्रेमले गणेश भीरबाट लडेको र आफूले सडकछेउमा ल्याएर राखे भनेको नन्दराज बताए। ‘उसले भीरबाट लड्यो। अनि मैले यता ल्याएर राखेँ भनेको थियो,’ उनले भने, ‘भीरबाट लडेको भए टाउकोमा मात्रै किन चोट छ। अन्य शरीरमा पनि हुनुपर्ने हो। लुगा च्यातिनुपर्ने हैन र ?’ नन्दराजले प्रश्न गरे।

कस्तो छ गणेशको अवस्था  ?

१३ गते जिल्ला अस्पताल बैतडी भर्ना गरिएका गणेशको स्वास्थ्य अवस्था जटील भएको भन्दै धनगढी रेफर गरियो। तर जारी निषेधाज्ञाका कारण गाडी पाउन नसकिएपछि भोलिपल्ट १४ गते धनगढीस्थित सेती अस्पताल ल्याइयो। सेतीमा आईसीयू कक्ष अभाव भएपछि धनढीकै माया मेट्रोमा लगियो। अहिले उनको त्यहाँ उपचार भइरहेको छ। उनी अझैँ पनि अचेत अवस्थामै छन्। 

‘डाक्टरले हामीले आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेका छौँ भनेका छन्। अन्त कतै लगेर यो भन्दा राम्रो उपचार गर्न सक्छौँ जस्तो लाग्छ भने पनि लैजाँदा हुन्छ भन्छन्,’ नन्दराजले थपे।

के गर्दै छ प्रहरी ?

गणेशका बुबाले बिहिबार जिल्ला प्रहरी कार्यालय बैतडीमा घटना घटाएको भनी शंका गरिएका प्रेम चन्दका नाममा किटानी जाहेरी दिइसकेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले आवश्यक अनुसन्धानका लागि चन्दलाई पक्राउ गरिएको बताए। प्रेमविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको खड्काले जानकारी दिए।
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस