सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–काठमाडौँ हवाई सेवा पुनः सञ्चालन, प्रदेशमा पनि आन्तरिक उडान हुने

२०७८ असार १७, १०:४५

धनगढी: कोरोनाको दोस्रो लहर रोक्ने उद्देश्यको निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः सञ्चालनमा आएको छ। निषेधाज्ञाको करिब दुई महिनापछि बिहीबार (आज) देखि आन्तरिकतर्फको नियमित उडान सुरु भएको हो।

घरेलुतर्फका नियमित उडान वैशाख २० देखि ठप्प थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि नियमित आन्तरिक उडान सुरु गर्ने निर्णय गरेअनुसार देशका विभिन्न गन्तव्यमा हवाई सेवा पुनः सुरु हुन लागेको हो।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धनगढी–काठमाडौँ आज चार उडान तय भएको छ । ‘बुद्ध र श्री एयरलाइन्सले दुई/दुई उडान गर्ने निर्णय गरेका छन्। समिट एयरले पहाडी जिल्लामा उडान भर्दैछ,’ उनले भने। समिट एयरले आज बझाङ, बाजुरा र अछाम उडान भर्ने धनगढी विमानस्थलले जनाएको छ।

स्वास्थ्यलाई नै प्रमुख आधार बनाएर सेवा सञ्चालनमा आउने भएकाले विमानस्थल र विमान कम्पनीले उडान निर्देशिका अनुसार यात्रुलाई मापदण्डको आधारमा मात्र सेवा दिनुपर्नेछ।

संक्रमणको जोखिम कम गर्न देशभरका विमानस्थलमा सामाजिक दुरी कायम राख्न मार्किङ, सरसफाइ तथा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तयार पारेको मापदण्ड अनुसारको संरचना तयार भइसकेको प्राधिकरणकोे भनाइ छ।

यात्रु मात्रै नभई विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षा कर्मचारीले समेत संक्रमणरहित उडानको लागि सजग रहनुपर्नेमा प्राधिकरणले जोड दिएको छ।  
 

कमेन्ट लोड गर्नुस