सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजस्व चुहावट नियन्त्रणमा अन्तरनिकाय समन्वयमा जोड

२०७८ असार १४, ०९:०९ रासस

काठमाण्डौँः  राजस्व चुहावट नियन्त्रण  प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयमा जोड दिइएको छ।

राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका बैठकमा सरोकार संस्थाका प्रतिनिधिले समन्वयात्मक रुपमा चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए। 

बैठकले कोभिड१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहजीकरण गर्ने तथा राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने निष्कर्ष निकालेको छ। 

बैठकले राजस्व संकलनलाई परिणाममुखी बनाउने, जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिसमक्ष पेश गर्ने र राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने निर्णय पनि गरेको विभागका उपमहानिर्देशक शिवलाल तिवारीले जानकारी दिए। 

विभागका उपमहानिर्देशक तिवारीले राजस्व चुहावट जोखिमका क्षेत्र, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा पर्ने नवीन चुनौती र अपनाउनुपर्ने रणनीति, कोभिड१९ र यसले राजस्व संकलनमा पारेका असरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

सो क्रममा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका पछिल्ला निर्णय र कार्यान्वयनका अवस्थाका साथै जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो।

राजस्व संकलन तथा चुहावटमा कोभिड१९ का कारण हालसम्मका अवधिमा प्रत्यक्ष असर परेको देखिए तापनि समग्रमा  संकलन सन्तोषजनक नै रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस