एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात
काठमाण्डौँः चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ।
यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुन थालेको हो।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको (साउदेखि जेठसम्म) तथ्याङ्कअनुसार यस अवधिमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो। गत वर्षको सोही अवधिमा ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो।
यसैगरी एघार महिनामा १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ६७ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा सोही अवधिमा एघार खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो। जेठमा मात्रै एक खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ।
तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ। विभागको तथ्याङ्कअनुसार एघार महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ। आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो। गत वर्षको सोही अवधिमा नेपालले रु दश खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो। गत वर्षको तुलनामा यस वर्ष २४ दशमलव ६१ प्रतिशतले व्यापार घाटा भएको हो।
वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ९४ र निर्यातको हिस्सा ८ दशमलव ०६ प्रतिशत रहेको छ। आयातको हिस्सा मात्र ० दशमलव ७१९ प्रतिशतले घटेको छ। चालु आवको सो अधिमा कूल वैदेशिक व्यापारमा वृद्धि भएको छ। एघार महिनाको अबधिमा १५ खर्ब ४ अर्ब ६१ करोड बराबरको वैदेशिक व्यापार भएको छ। गत आर्थिक वर्षको तुलनामा सोही अवधिमा एघार खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख बराबरको व्यापार भएको थियो। गत वर्षको तुलनामा यस वर्ष २६ दशमलव ५६ प्रतिशतले व्यापारमा वृद्धि भएको छ।
सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ। यस्तै, भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु सबैभन्दा धेरै नेपालबाट निर्यात भएका छन्।