सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिकाले ल्यायो ५९ करोड २२ लाखको बजेट

२०७८ असार १०, ०३:१३ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५९ करोड २२ लाख ८८ हजार बराबरको बजेट ल्याएको छ। बिहीबार बसेको आठौं नगरसभामा उपप्रमुख राधा ओझाले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्। नगरपालिकाले अधिकांश विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ। समृद्ध मेलौली नगरपालिकाको आधार, कृषि,पर्यटन र पूर्वाधार भन्ने नारालाई साकार तुल्याउने हिसाबले नीति तथा कार्यक्रम र बजेट तयार पारेको उपप्रमुख ओझाले बताइन्। 

यस्तै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। आर्थिक समृद्धिको पहिलो आधार कृषि रहेको भन्दै नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै कोभीड जस्ता महामारीसंग सामाना गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्नका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।यस्तै परम्परागत सीपहरुको आधुनिकीकरण गरी नगरबासीको आयआर्जनमा वृद्धि ल्याउने कुरा पनि उल्लेख गरिएको छ। यसैगरी ल्याण्ड फिल साइड निर्माणका लागि जमीनको खोजी गर्ने र डम्पिङ साइड निर्माण गर्ने कुरा पनि निती तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

नगरपालिकाले आगामी आर्थिक बर्षमा पनि उपमेयरको कोसेली कार्यक्रमलाई निरन्तरता दिने र बिधुर भत्तामा केही थप गरिने समेत उल्लेख गरिएको छ। नगरपालिकाले आर्थिक विकास, सामाजिक क्षेत्र, सांस्कृतिक तथा पर्यटन क्षेत्र, वातावरण संरक्षण लगायतका क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरेको उल्लेख गरिएको छ। यस्तै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस