सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सूर्या लाइफ इन्स्योरेन्सको ठगीधन्दाः सेवाग्राहीले बीमा गर्न दिएको पैसा हिनामिना !

२०७८ असार ६, ०८:०० लखन चौधरी

धनगढीः कैलालीको कैलारी गाउँपालिका ९ का २८ वर्षीय विजय चौधरी र कैलारी गाउँपालिका ६ का ३४ वर्षीय सन्दिप चौधरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता हुन्। 

२०७७ माघदेखि बीमा कम्पनीमा आवद्ध भएका उनीहरुले सुरुमा आफ्नै जीवन बीमा गरेर कामको थालनी गर्ने योजना बनाएका थिए। उनीहरुले कोड नं. ५०२१८२८ भएका आफूभन्दा वरिष्ठ अर्का अभिकर्ता विजय चौधरीलाई सिंगल प्रिमियम जीवन बीमा गर्न २ लाख ३९ हजार रुपैयाँ बुझाएका थिए। सो रकम कोड नं. ५०२१८२८ भएका विजय चौधरीले कम्पनीको धनगढी शाखामा बुझाए। बीमा गरेपछि जीवन सुरक्षित हुने र व्यवसाय पनि सुरु हुने भएपछि उनीहरु ढुक्क र उत्साहित पनि थिए। 

तर हप्ता दिन, महिना दिन, यहाँसम्मकी ४ महिना बित्दासमेत आफूहरुको बीमा नभएको थाहा पाएपछि उनीहरु हाल छाँगाबाट खसे झै भएका छन्। बीमा रकम बुझाए पनि बिमित हुनबाट बञ्चित भएका विजय चौधरीले दुखेसो सुनाउँदै भने, “हामीले पैसा बुझाइसकेपछि हाम्रो नाममा बीमा पोलिसी आउनुपर्ने हो। तर, आएन। हामीले खोजीनीति गर्दा प्रदेश प्रबन्धक सरले आफूले अन्तै लगानी गरेको स्वीकार्नु भएको छ। जसबाट हामी निकै नै स्तब्ध भयौं। बीमा जीवन आइपर्ने जोखिम बहन गर्नको लागि गरिन्छ, तर हाम्रो पसिनामाथि गद्दारी भयो।”

पैसा बुझाएको लामो समयसम्म बीमा नभएपछि उनीहरुले गत फागुन ५ गते सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रबन्धक जगदिश भट्ट समक्ष के कति कारणले बीमा भएन भनेर लिखित उजुरी दिएका थिए। तर उजुरीको कुनै सुनुवाई नभएको उनीको दुखेसो छ। पछि कार्यालयमै गएर दवाब सिर्जना गरेपछि एक जनाको पैसा भोलि फिर्ता गर्ने र अर्का एक जनालाई एक हप्ताभित्र फिर्ता गर्ने र उजुरी दर्ता गर्ने सहमति भएको अभिकर्ता समेत रहेका पीडितहरुले बताएका छन्। तर हालसम्म नत बीमा भएको छ, नत पैसा नै फिर्ता भएको गुनासो उनीहरुको छ। 

पीडित सन्दिप चौधरीले दिनेशखबरसँग भने, “बीमा कम्पनीले यसरी ठगी गर्छन्, झल्लाउँछन् भन्ने थाहा थिएन। अब त बीमा कम्पनीबाट विश्वास समेत हटिसक्यो। हाम्रो लगानी डुबाए। घर न घाटका बनाए।”

‘कम्पनीमा पैसा नै आएको छैन’
पीडितहरुले बीमाको लागि पैसा दिएको बताइरहँदा बीमा कम्पनीका पदाधिकारीहरुले भने आफूहरु कहाँ पैसा नै नआएको भन्दै जिकिर गर्न थालेका छन्। 

कम्पनीका धनगढी शाखा प्रबन्धक नरेश भट्ट र प्रदेश प्रबन्धक जगदिश भट्टले कम्पनीलाई पैसा नै नआएको र कम्पनीलाई बदनाम गराउन खोजेको बताएका छन्। धनगढी शाखाका प्रबन्धक नरेश भट्टले भने, “हामीसँग पैसा आएकै छैन। त्यो बेला म काठमाडौंमा पनि थिए। पैसा आएपछि बीमा हुनुपर्ने हो। नआएकाले नभएको हो।”

तर कम्पनीका ५०२१८२८ कोड नं. भएका अभिकर्ता विजय चौधरीले पीडित भनिएका विजय चौधरी र सन्दिप चौधरीले बुझाएको बीमा रकम कम्पनीमा कार्यरत कर्मचारी विरेन्द्र चौधरीलाई बुझाएको र सो रकम प्रदेश प्रबन्धक जगदिश भट्ट स्वयमले अवचलन गरेको आरोप लगाउँदै कम्पनीको केन्द्रीय कार्यालयमा उजुरी समेत गरेको पाइएको छ। तर प्रदेश प्रबन्धक जगदिश भट्टले आफू कहाँ पैसा नै नआएको बताएका छन्। 

सेवाग्राहीले बुझाएको रकम अबचलन गरेको आरोप लागेपछि कम्पनीका धनगढी शाखा र प्रदेश प्रबन्धकद्वय भटट्ले बीच बाटोमै पैसा रहेको र हाल फिर्ता गरेको जिकिर समेत गरेका हुन्।

तर पीडितको हातमा हालसम्म सो रकम फिर्ता नभएको हो। बीमाको नाममा ठगिएपछि उनीहरु निकै मर्कामा परेको गुनासो पोखेका छन्। उनीहरुले आफूहरुको बीमा गर्न भनि दिएको रकम कहाँ गयो ? भनेर सत्यतथ्य छानबिन गरी कारबाहीको माग गर्दै कम्पनीको केन्द्रीय कार्यालयमा उजुरी समेत गरेका छन्। 

तर उजुरीकर्ताको उजुरी हालसम्म प्राप्त नभएको बताइएको छ। कम्पनीका कार्यकारी अधिकृत पवन कुमार खड्काले हालसम्म कुनै गुनासो समेटिएको पत्र प्राप्त नभएको बताउँदै पत्र पाएको अवस्थामा छानविन गरिने बताए।

बीमा कम्पनीहरुको ठगिधन्दा मौलाएको बेला सेवाग्राहीले सचेत बन्नुपर्ने बताइएको छ। त्यस्तै पीडितहरुको उजुरी आएको अवस्थामा छानविन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन लगाउने बीमा समतिका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ।

बीमा कम्पनीबाट पीडित भएका यी केही उदाहरण मात्रै हुन्। बीमा कम्पनीका कर्मचारी र अभिकर्ताहरुले सर्वसाधारणबाट बीमा गरिदिने भन्दै पैसा लिने र आफै पैसा प्रयोग गर्ने गरेको गुनासो बढ्दै गएको छ। 
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस