सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो झरीमै धनगढी उपमहानगर : सडक हो कि धान रोप्ने खेत ! (भिडिओ र फोटोसहित)

२०७८ जेठ ३१, ०७:३८ लखन चौधरी

धनगढीः कोरोना महामारीका कारण स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि धनगढीका निर्माधिन सडकको काम ठप्प भएको थियो।

घाम लागेपछि धुलाम्मे हुने ती सडक हाल बर्खे झरी सुरु भएपछि हिलाम्मे भइ हिडडुल समेत गर्न नसकिने भएको छ। घरै अगाडिको सडकमा हिड्न मस्किल भएपछि स्थानीयहरुले निकै सास्ती खेप्नु परेको हो।

 

धनगढी उपमहानगरपालिका ४ का गुणाकर भट्टले भने, “घाम लागेपछि धुलोले हैरानी, अहिले एकै झरीले बेहाल भयो। घर बाहिर निस्कन पनि गाह्रो भयो।” 

धनगढीमा एसियाली विकास बैँकको क्रण सहयोगमा सञ्चालन भएको क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम निषेधाज्ञापछि ठप्प भएको हो। आयोजना कार्यान्वयन गर्ने क्षेत्रीय सहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले बजार क्षेत्रका १० किलोमिटरका ७ वटा सडक कालोपत्रेका लागि गत असारमा ठेक्का सम्झौता गरेको थियो।

धनगढीको ट्राफिक चौराहादेखि कैलाली पुलसम्मको १ दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि गत असारमा सम्झौता भएको थियो। 

तर बर्खे झरीले ती सडक अहिले नै हिलाम्मे हुँदा असार साउन महिनामा आवातजवात कसरी गर्नेबारे स्थानीय हैरान भएका हुन्।

धनगढीका अर्का स्थानीय पवन पन्तले समयमा सडकको काम नहुँदा साँगुरिँदै गएको बताए। चारपांग्रे गाडी आउँदा पैदल यात्रीले सडक बाहिर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ।

सडक कालोपत्रेको ठेक्का पाएको भरतपुरको कालिका कन्ट्रक्सनसँग २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ। तर सडक निर्माणको सम्झौता भएको एक वर्ष हुँदाअहिले काम ठप्प छ। सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले सबै सडकमा निर्माणको काम सुरु समेत गरेको छैन।  

पहिलो चरणमा गत असारमा १० किलोमिटर लम्बाईका ७ वटा सडक ६८ करोड ५ लाख ९८ हजारमा निर्माण गर्नेगरी सम्झौता भएको थियो। बैशाख १६ गते स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि सडक निर्माणको काम पूर्ण ठप्प भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले बताएको छ। तर बर्षातसम्मलाई आवातजावतमा सहता ल्याउन निर्माण कम्पनीलाई तत्काल काम गर्न निर्देशन दिइएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका इन्जिनीयर झंक थापाले बताए।

त्यस्तै, निर्माण कम्पनीले पनि निषेधाज्ञाले प्रभावित भएको काम अब अगाडि बढाउने बताएको छ। वर्षातको समय सुरु हुन थालेकाले हिलो कम गर्न ग्रावेलसम्मको काम ्तत्काल अगाडि बढाउन लागिएका बताइएको छ। कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलले २ दिनेभित्रै ग्राबेल हाल्ने काम गरिने बताए।

क्षेत्रीय शहरी विकास आयोजनाले कार्यान्वयन गरिरहेका सडकको चौडाई घटाएर सम्झौता भएको थियो । आयोजना अन्तरगत सुरुमा ४२ किलोमिटर सडक कालोपत्रे गर्ने भनिएको थियो। पछि लम्बाई घटाएर १० दशमलव १८ किलोमिटर मात्र कालोपत्रे गरिने गरि सम्झौता भएको हो। 

यस्तै धनगढी चौराहदेखि क्याम्पस रोडसम्मको मुख्य सडकको चौडाई ३० मिटर कायम गरिएकोमा घटाएर २४ मिटर कायम गरिएको छ। शाखा सडक भने २४ मिटर भन्दा पनि कम चौडाईका हुनेछन्। धनगढी उप–महानगरपालिकामा २३ वटा सडक कालोपत्रे गर्ने योजना रहेकोमा पहिलो चरणमा ७  सडक मात्र कालोपत्रे हुने क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन ईकाइले जनाएको छ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस