सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रदेश सरकार पनि खोला मिचेर सडक निर्माण गर्दै

२०७८ जेठ ३०, ०७:११ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरको बजार क्षेत्रमा खोलानाला अतिक्रमण रोकिएको छैन।

खोलानालाको अतिक्रमण तीव्र भइरहेको बेला प्रदेश सरकारले पनि खोला मिचेरै सडक निर्माण गर्न बजेट हालेको पाइएको छ। 

धनगढीको वडा नम्बर २ सन्तोषी टोल भएर बग्ने सुकुटी नाला मिचेर प्रदेश सरकार असारे सडक निर्माणमा जुटेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष नरबहादुर बमले बताएका छन्। 

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सदस्यलाई समेत थाहा नदिएर प्रदेश सरकारले सुटुक्क खोलामा योजना हाल्दा बस्ती डुवान हुने भन्दै सन्तोषी टोलका स्थानीय चिन्तित बनेका छन्। 

केही वर्षदेखि धनगढीमा हरेक वर्ष वर्षायामको पानी पर्दा डुबान हुने समस्या देखिने गरेको छ। धनगढी डुबानको मुख्य कारण यहाँको खोलानालाको अतिक्रमण भएपनि त्यो अतिक्रण हटाउन उपमहानगर निरीह भएको आरोप लाग्ने गरेको छ। 

धनगढीमा दर्जनौँ ठाउँमा खोलानाला अतिक्रमण भएको नागरिकको गुनासो भएपनि उपमहानगरपालिकाले भने अतिक्रण हटाउने आफ्नै घोषणा बिर्सेको छ। धनगढी उपमहानगरपालिकाको अक्रमण्यताले नगर क्षेत्रमा खोलानाला अतिक्रमण बढेको गुनासो सन्तोषी टोलका स्थानीयहरुले गरेका छन्।

सन्तोषी टोलको सुकुटी नाला मिचेर सडक निर्माण भइरहेको भएपनि त्यो सडकमा उपमहानगरको बजेट नहालिएको वडा अध्यक्ष नरबहादुर बमले दाबी गरे। ‘प्रदेश सरकारले स्थानीय तहलाई जानकारी नै नदिएर बजेट हाल्ने गरेको छ’ अध्यक्ष बमले भने, ‘स्थानीयको गुनासो आएपछि नाला मिचेर सडक निर्माण नगर्न निर्माण व्यवसायीलाई भनेको तर अहिले उनी सम्पर्कमै नआएको र फोन गर्दा समेत उठाउदैनन्।’ 

उता प्रदेश सासंद डिल्लीराज पन्तले पनि समन्वय नगरेरै बजेट हाल्ने गरेकाले यस्तो समस्या आउने गरेको बताएका छन्।

‘प्रदेश सरकारले भनसुनकै भरमा प्रदेश सभा सदस्य र सम्बन्धित स्थानीय सरकारसँग समन्वय नै नगरी योजना हाल्ने गरेको कारण प्रदेशका योजना अनुगमनको अभावमा निस्प्रभावी हुने गरेका छन्’ उनले भने, ‘सन्तोषी टोलको सुकुटी नाला किनारमा सडक निर्माण गर्न मैले कुनै योजना मागेको छैन। सडक बनाउने भएपनि नाला त मिच्नु भएन।’ 

सन्तोषी टोलको सुकुटी नाला किनारमा प्रदेश सरकारले बजेट हालेको वडाअध्यक्ष नरबहादुर बमले दाबी गरेपनि सो ठाउँमा भइरहेको सडक निर्माणमा कसको बजेट हो भन्ने यकिन नभएको स्थानीयले बताएका छन्। 

प्रदेश सरकारको पूर्वाधार तर्फका योजना हेर्ने पूर्वाधार कार्यालय धनगढीले भने वडा नम्बर २ को सुकुटी नाला किनारमा सडक निर्माणको योजना नै नभएको बताएको छ।

यसरी प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा मापदण्ड विपरीत जथाभावी काम कसले गर्यो भन्ने समेत जनप्रतिनिधिले नै थाहा पाएका छैनन्। 
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस