धनगढीका १७ स्थानमा एक अर्बको सघन सहरी विकास कार्यक्रम सम्पन्न, मर्मतको काम भने अधुरै
धनगढीः धनगढीमा १३ वडाभित्र एक अर्ब रुपैयाँ खर्चेर १७ स्थानमा सडक, नाली कल्भर्ट लगायत निर्माण भएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले बताएको छ।
४० किलोमिटर कालोपत्रे सडकसहित नाली निर्माण भएको आयोजना कार्यालयले बताएको हो। तर तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने योजना चार वर्ष बितिसक्दा पनि मर्मत संभारको काम भने अझै पुरा हुन सकेको छैन्।
आर्थिक वर्ष २०७३/७४ देखि लागु हुनेगरी धनगढीमा सघन सहरी विकास कार्यक्रम कार्यान्वयन गर्ने भनिएपनि २०७४ फागुन २८ गतेदेखि मात्र यो कार्यक्रम सुरु गरिएको थियो।
तीन वर्षभित्र सडक, नाली लगायत निर्माणको काम सम्पन्न गर्नेगरी समय निर्धारण गरिएको भएपनि २०७८ जेठ महिना सकिनै लाग्दा ९९ प्रतिशत काम सम्पन्न भएको पाइएको छ।
धनगढी उपमहानगरपालिकाभित्रका १३ वडाभित्र १७ स्थानमा सघन सहरी विकास कार्यक्रम कार्यान्वयन भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रविन शाहले बताए। ‘एक/दुई स्थानमा थोरै विवाद भएका कारण काम हुन सकेको छैन’ उनले भने।
तराई–मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गर्ने योजना कार्यालयको थियो। जसअनुसार लागु भएको कार्यक्रम अन्तरगत धनगढीमा एक अर्ब रुपैयाँ खर्चेर ४० किलोमिटर कालोपत्रे सडक, नाली र कल्भर्ट निर्माण गरिएको भएपनि दुई तीन वर्षअघि निर्माण गरिएका योजनाहरुको मर्मत सम्भारको काम भने अझै बाँकी रहेको पाइएको छ।
एक दुई स्थानमा विवाद देखिएकाले शतप्रतिशत प्रगति हुन नसकेको आयोजना कार्यालयले बताएको छ। तर कोरोना भाइरसका कारण समयमा सक्नुपर्ने योजनाको काम प्रभावित बन्न पुगेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले बताए। ‘कतिपय काम हाम्रो आफ्नै लापरवाहीका कारण पनि हुन सकेन’ उनले भने।
यस क्षेत्रको आर्थिक तथा व्यसायीक क्षेत्रलाई टेवा पुग्ने अपेक्षा अनुरुप सुरु गरिएको यो कार्यक्रम सम्पन्न भएर ९६ करोड भुक्तानी समेत निर्माण कम्पनीलाई गरिसकिएको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख शाह बताए।
कतिपय पुराना सडकहरुको मर्मत सम्भारको काम बाँकी नै रहेकाले निर्माण व्यवसायीलाई तीन करोड २० लाख भुक्तानी गर्नै बाँकी रहेको उनले बताए।
कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा लागु भएको सघन सहरी विकास कार्यक्रम तीन वर्षभित्र सम्पन्न हुनुपर्नेमा एक वर्ष ढिलो गरी सम्पन्न भएको भन्दै आयोजना कार्यालयले दाबी गर्दै आएपनि बिग्रीएका तथा भत्किएका सडक मर्मतको काम अझै हुन सकेको छैन।