सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएकालाई कञ्चनपुरका सीमा नाकामा खाजा खुवाउँदै ‘डिप्रोक्स’

२०७८ जेठ ३०, ०५:१० रासस

कञ्चनपुर: पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्क रुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।

तीन साताको अवधिमै केद्रले तीन हजार ५०० जनालाई खाजा खुवाएको छ। भारतबाट फर्कनेलाई सीमा नाकामा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरमा पु¥याइएपछि खाजा खुवाइने गरिएको छ। खाजाका रुपमा फलफूल, चाउचाउ र बिस्कुट दिइने गरिएको छ।

खाजा वितरणका लागि चार कर्मचारीलाई बिहान ६ बजेदेखि दिउँसोसम्म खटाइने गरिएको छ। “कोरोना महामारीलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका बेला भारतबाट फर्किएकालाई खाजा पाउन निकै मुस्किल छ”, केन्द्रका प्रमुख प्रशिक्षक अतिना बोहरा मडैले भनिन्, “त्यै भएर एक छाक भए पनि खाजा खुवाउन थालिएको छ।”

भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि गड्डाचौकी भएर नेपाली घर फर्किन थालेका थिए। अहिलेसम्म घर फर्किने क्रम रोकिएको छैन। घर फर्किएकाहरुले तीन दिनसम्म भोकै भएको पीडासमेत सुनाउने गरेको मडैले बताए। डिप्रोक्स नेपालले कृषि क्षेत्रमा महिलाको सहभागिता सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस