सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ सय मिटर सडक बनाउन धनगढी उप-महानगरपालिका असफल

२०७८ जेठ २८, ०५:३४ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका चार सय मिटरको सडक बनाउन समेत असफल भएको पाइएको छ। निर्माण सम्झौता भएको एक वर्ष वितिसक्दा पनि चार सय मिटल लामो सडक बनाउन समेत उपमहानगरपालिका असफल देखिएको हो। 

उपमहानगरपालिकाले चाुल आर्थिक वर्षका लागि ११ सय विकास निर्माणका योजना अघि सारेको भएपनि अधिकांश योजनाको प्रगति यसैगरी असफल बन्दै गएका हुन्। हरेक वर्षझै यस वर्षपनि उपमहानगरपालिकाभित्र असारे विकासको प्रवृत्ति पुनः दोहोरिने अवस्था देखिएको अधिकारीहरु बताउँछन्। 

धनगढी उपमहानगरपालिकाले निर्माण सुरु गरेको एक वर्ष भन्दा बढि समय वितिसक्दा पनि चार सय मिटरको सडक बनाउन समेत सकेको छैन्। चालु आर्थिक वर्षको अन्तिममा आएर धनगढीभित्र जताजतै सडक भत्काईदा आवतजावतमा समस्या भइरहेका बेला भत्काइएका सडक निर्माणमा समेत उपमहानगरपालिकाले कुनै चासो नदिँदा पुनः असारे विकासको प्रवृत्ति दोहोरिन पुगेको हो।

धनगढी उपमहानगरपालिकाले आफ्नो आन्तरिक श्रोतबाट पार्कमोडदेखि कवर्ड हल हुँदै डिभोटी होटलसम्म चार सय मिटर सडक निर्माणका लागि दुई करोड एक लाख ३७ हजार २७२ रुपैयाँमा ठेक्का सम्झौता गर्‍यो।

२०७६ फागुन ११ गते उच्चाकोटी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको भएपनि निर्माणले भने अझै पुर्णता पाएको छैन्। चार सय मिटरको सडक निर्माण नै यतिबेला पुर्ण रुपमा अवरुद्ध भएको पाइएको हो। सडकको कालोपत्रेको काम सुरु हुनै लाग्दा कामदार नआएपछि सडक निर्माणको काम रोकिन पुगेको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर उपेन्द्र भट्टले जानकारी गराए।

धनगढी उपमहानगरपालिकाभित्र यतिबेला जताजतै सडक तथा नालीहरु भत्काइएको देख्न सकिन्छ। भत्काइएका सडक तथा नालीहरुको निर्माण नहुँदा नगरवासीलाई आवातजावतमा निकै सास्ती खेप्नु परिरहेको छ।

उपमहानगरपालिकाले योजनाबद्ध रुपमा सडक, ढल तथा नाली निर्माण नगर्दा यसपालि पनि ढुवानीको समस्या झेल्नुपर्ने अवस्था देखिएको धनगढी उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्षका प्रत्यासी वीरबहादुर साउँदले बताए।

उपमहानगरपालिकाले निर्माणको गरेको सडक, ढल तथा नाली नै मापदण्ड विपरित भएको उनले बताए। नगर क्षेत्र नै थुनिने गरी निर्माणको काम भइरहेको उनको आरोप छ। मेन रोडमा पानीको निकास नै नहुने गरी सडक र नाली निर्माण गरिन लागेको उनले बताए। 

आर्थिक वर्ष २०७७÷७८ को नगरसभाबाट उपमहानगरपालिकाकाभित्रका सवै वडाहरुमा गरी ११ सय विकास निर्माणका योजनाहरुमा एक अर्व ८३ करोड ८२ लाख बजेट विनियोजन गरिएको भएपनि अधिकांश वडाहरुमा अझै निर्माणको काम सुरु भएको छैन्। 

कतिपय वडाहरुमा भत्काइएका सडक तथा नालीहरुको निर्माण समेत सुरु नगरिँदा नगरवासीलाई एक स्थानबाट अर्को स्थानसम्म पुग्न समस्या भइरहेको छ।

पहुँचको आधारमा योजना बाड्ने र ती योजना समेत समयमा पुरा नगर्ने उपमहानगरपालिकाको प्रवृत्तिका कारण प्रत्येक वर्ष धनगढी डुबानमा पर्ने गरेको छ। तर कोरोना भाइरसका कारण धनगढी उपमहानगरपालिकाले अघि सारेका साना ठुला विकास निर्माणको काम प्रभावित बन्न पुगेको प्रवक्ता सन्तोष मुडभरीले बताए।

धनगढी उपमहानगरपालिकाले योजनाबद्ध विकासको मोडल अझै तयार पार्न सकेको छैन्।

दीर्घकालीन विकासको खाका नभएकै कारण असारे विकासको प्रवृत्ति पटक पटक दोहोरिने गरेको हो। नगरवासीको माग र आवश्यकतालाई पहिचान गरेर मात्र विकास निर्माणको खाका बनाउने हो भने दीर्घकालिन समस्याको समाधान गर्न सकिन्छ।
 

कमेन्ट लोड गर्नुस