सुदूरपश्चिमबाट द्वारिकादेवीको बिरासतलाई जोगाउँदै राज्यमन्त्री बन्ने को हुन् आशा बिक ?
धनगढीः हालसम्म सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बन्नेहरुको नामावली लामै छ। त्यसमा प्रधानमन्त्री र मन्त्री बन्नेमा अधिकांश पुरुष छन्। तर मन्त्री बन्ने महिलाहरुको नाम दियो बालेर खोज्नुपर्ने अवस्था छ।
सम्भवतः सुदूरपश्चिम प्रदेशबाट पहिलो मन्त्री हुने महिला नै द्वारिकादेवी ठकुरानी हुन्। १९७४ मा डोटीको सिलगढीमा जन्मेकी उनी नेपाली कांग्रेसबाट २०१५ को आमनिर्वाचनमा निर्वाचित भएपछि २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन्।
पञ्चायत कालमा (२०३५–२०३६) सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा डडेलधुराकी कल्पना बिष्ट शिक्षा सहायक मन्त्री बनेकी थिइन्।
२०५६ मा शेरबहादुर देउवाको प्रधानमन्त्री कालमा कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सुशिला स्वाँर महिला तथा बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी थिइन्। नियुक्ति राज्यमन्त्रीको भए पनि मन्त्रालयको पूरै जिम्मेवारी सम्मालेको स्वाँर बताउँछिन्।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री (२०६८–२०६९) हुँदा कैलालीकी लिला भण्डारी शिक्षा राज्यमन्त्री बनेकी थिइन्। त्यस्तै, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुरबाट निर्वाचित विना मगर प्रधानमन्त्री केपी शर्माओलीकै प्रधानमन्त्री कालमा खानेपानी मन्त्री बनेकी हुन्। अब द्वारिकादेवी ठकुरानीले बसालेको त्यो विरासतको निरन्तरता दिने सुदूरकी अर्की महिला नेतृ आशा कुमारी बिक बनेकी हुन्।
बझाङको जयपृथ्वी नगरपालिका १ पिमीकी ३९ (२०३८) वर्षीया बिक विघटित प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङमा महिला सशक्तिकरण, जातीय छुवाछुट विरुद्धको अभियानमा निकै सक्रिय उनी २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी प्रतिनिधि सदस्य सदस्य बनेकी हुन्।
सामाजिक क्षेत्रमा निकै क्रियाशिल उनी २०६९ मा नेकपा एमाले बझाङको जिल्ला कमिटी सदस्य भएकी थिइन्। त्यस्तै उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, नेपाल उत्पीडित जातीय मुक्ति समाजको सुदू्रपश्चिम सदस्य तथा जिल्ला इन्चार्ज रहेकी छिन्।
सामाजिक क्षेत्रसँगै राजनीतिमा क्रियाशिल उनी प्रधानमन्त्री केपी शर्माओली नेतृत्वमा वन राज्यमन्त्री बनेकी हुन्।