सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिममा स्क्रबटाईफसको प्रकोप वढ्दै

२०७५ कार्तिक ८, ११:३२ सीताराम ओझा

स्क्रबटाईफस रोगको सक्रमण सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु समेत भईसकेको छ । कैलाली कञ्चनपुरसँगै पहाडी जिल्लाहरुमा पनि यो रोगको सङ्क्रमण वढ्दै गएको छ । स्क्रब टाइफसको प्रकोप वढिरहेकोले माहामारीको खतरा हुन सक्ने भन्दै  बच्न सबैलाई सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् । 

लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता लक्ष्यण देखिएका विरामीहरुको जाँच गर्दा स्क्रबटाईपसका विरामीहरुको संख्या वढिरहेको पाईएको हो । रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिने र  पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने रोगको प्रकोप सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा वढिरहेको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पछिल्लो १५ दिनमा ७६ जना विरामीमा जाँच गर्दा ३३ जनामा यो रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेसु डाक्टर जितेन्द्र कडेंलले जानकारी दिए । 

ती विरामीमा २१ जना डडेल्धुराकै रहेका छन भने ११ जना वैतडीका र वझाङका एक जना रहेका छन् । धनगढीको सेती अञ्चल अस्पतालमा पनि यो बर्ष ५० जना स्क्रब टाईफसका विरामी देखिएकोमा डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको मृत्यु भईसकेको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा यो रोगको प्रकोप फैलिदै गएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । 

स्क्रबटाइफस रोगका बिरामीको संख्या बढेसँगै महामारीको खतरा बढेको छ । स्क्रब टाइफस रोगका बिरामीको संख्या बढे पनि नियन्त्रणका लागि उपायहरु अपनाउन ढिलाइ भइरहेको स्वास्थ्यकर्मीहरुको आरोप छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार यो रोगको किट जाँच गर्नका लागि स्वास्थय संस्थाहरुमा नपठाईने र माग भएमा सहयोग हुँदै आएको वताएको छ । प्रदेश र स्थानीय तहमा रकम पठाईएकोले त्यसका लागि लाग्न निर्देशन दिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले अहिले स्थानीय तह र प्रदेश सरकारलाई औषधीका लागि बजेट दिएकोमा त्यही अनुसार गर्न भनेको बताए । 

स्क्रबटाईफस विरुद्ध सचेतना अभियान गएका वर्षहरुमा जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने गरेकोमा यो वर्षदेखि ती कार्यालयहरु खारेज भएका कारण सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् । समयमै अभियान सञ्चालन नगरेमा सुदुरपश्चिममा महामारीको रुपमा फैलिने खतरा वढेको छ । त्यसैले सचेत रहनुपर्ने सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको भनाई छ । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस