सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको तुर्माखाँदमा अस्पताल निर्माण बोलपत्रमा बदमासीः आफ्नालाई ठेक्का पार्न २ पटक म्याद थप

२०७८ जेठ २४, ११:३७ लखन चौधरी

धनगढीः अछामको तुर्माखाँद गाउँपालिकाले १० बेडको अस्पताल निर्माणको लागि बैशाख २४ गते बोलपत्र आह्वान गरेको थियो। जसको लागि निर्माण व्यवसायीले जेठ २३ गतेसम्म आफ्नो बोलपत्र दर्ता गर्नुपर्ने समय सीमा थियो। 

तर गाउँपालिकाले बोलपत्र दर्ता समय सकिन १ घण्टा बाँकी रहँदा पुरानो स्पेसिफिकेशनमा नयाँ बुँदा थपेर समय बढायो। जस अनुसार गाउँपालिकाले २ दिन समय थप गरेर अन्तिम समय जेठ २५ गतेसम्म पुयायो।

गाउँपालिकाले आह्वान गरिएको बोलपत्रको ‘की प्रोडक्सन अनुभव’मा यसअघि आरसीसी वर्क इन सिंगल कन्ट्रक्ट, ब्रिक मेसोनरी वर्क मोर्टर इन सिंगल कन्ट्रक्ट र रेनफोर्समेन्ट फे ५०० वर्क इन सिंगल कन्ट्रक्ट मात्रै उल्लेख गरेको थियो।
तर पछि १२०० स्क्वायर मिटर एम ३५ वा कोब्बल बेलेन्डेड कलर कंक्रिट वर्क इन सिंगल कन्ट्रक्ट शर्तसहितको बुँदा राखेर समय थप गरेको हो।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कमिसनको चक्करमा चाहेको निर्माण कम्पनीलाई ठेक्का पार्न बोलपत्रको शर्त थपेको स्रोतको दाबी छ।

बोलपत्र दर्ताको समय सकिन केही घण्टा बाँकी रहेको अवस्थामा पहिलेको शर्तमा नयाँ थपेर समय थप गर्नु सरासर आर्थिक अनियमितता भइरहेको र नयाँ शर्त थपेर प्रचलित कानून विपरित सिण्डिकेट गर्न खोजिएको निर्माण व्यवसायीको गुनासो छ।

निर्माण व्यवसायीको विरोध
गाउँपालिकाले शर्त थपेर समय थप गरेपछि निर्माण व्यवसायीहरु विरोधमा समेत उत्रिएका छन्। उनीहरुले नयाँ समय र नयाँ शर्त खारेजीको माग समेत गरेका छन्।

कालिका निर्माण सेवा धनगढीले नयाँ शर्त र समय थप गरिएको प्रति विरोध जनाउँदै खारेजीको माग गरेको छ।

खारेजीको माग गर्दै गाउँपालिकालाई पठाएको पत्रमा उल्लेख छ, “समय अवधि भन्दा १ घण्टा अगाडि आएर १२०० स्क्वायर मिटर एम ३५ वा कोब्बल बेलेन्डेड कलर कंक्रिट वर्क इन सिंगल कन्ट्रक्ट भनि टेण्डरमा राखिएको हुँदा उक्त कुरा हालसम्म सुदूरपश्चिमका कुनै पनि गाउँपालिका वा नगरपालिकाले समेत नमागेको र सीमित व्यक्तिहरुको मिलेमतोमा उक्त राखिएको हुँदा ‘की प्रोडक्सन अनुभव’ खारेजीको पेश गर्दछौ।”

त्यस्तै निर्माण व्यवसायीहरुले सो नयाँ शर्त अनुसार नेपालभरिमा २ वटा फर्महरुले मात्रै उक्त अनुभव सम्बन्धी काम गरेकोले गाउँपालिकाले स्वतन्त्र प्रतिश्पर्धा भन्दा पनि सेटिङ्गकै भर बोलपत्र आह्वान गरेको आशंका गरेका छन्।

पुनः १ साता म्याद थप
गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले प्रविधिक रुपमा समस्या भएको स्वीकार गरे।

धेरै उपशंका र निर्माण व्यवसायले विरोध गरेपछि आज (सोमबार) पुन बोलपत्रका शर्तहरुमा पुनर्विचार गरेर एक हप्ताका लागि समय थप गरिने निर्णयको बताए।

‘की प्रोडक्सन अनुभव’ बाट १२०० स्क्वायर मिटर एम ३५ वा कोब्बल बेलेन्डेड कलर कंक्रिट वर्क इन सिंगल कन्ट्रक्ट भन्ने शर्त समेत हटाउन लागिएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत बुढाले दिनेशखबरलाई बताए। अब बोलपत्रको म्याद जेठ ३० गतेसम्मको लागि लम्ब्याइएको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवै स्थानीय तहमा ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि बजेट निकासा गरेको छ। ५ बेडलाई ७० लाख, १० बेडलाई ८५ र १५ बेडलाई १ करोड बजेट निकासा चालु आर्थिक वर्षमा निकासा दिएको हो।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस