सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि प्रदेश १ र कर्णाली प्रदेशको बजेट अधिवेशन सुरु

२०७८ जेठ २४, ०७:३७ खबर संवाददाता

काठमाडौं:  प्रदेश १ र कर्णाली प्रदेशमा सोमबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ। संघीय सरकारले (जेठ १५ गते) बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच ढिला गरी अधिवेशन बोलाइएको हो।

आर्थिक कार्यविधि ऐन अनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भएपनि त्यसलाई अध्यादेशमार्फत संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश १ मा गत बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले सोमबार दिउँसो २ बजेको लागि बजेट अधिवेशन आह्वान गरेका छन्। प्रदेश १ संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले सोमबार दिउँसोको लागि बजेट अधिवेशन बोलाइएको बताए। 

कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो। कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ।

त्यस्तै, सोमबार नै कर्णाली प्रदेशको समेत बजेट अधिवेशन सुरु हुँदैछ। बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको बजेट अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो।

प्रदेश सरकारको सिफारिसमा गत शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सोमबारका लागि बजेट अधिवेशन आह्वान गरेको संसद सचिवालयले जनाएको छ।

कानुनी व्यवस्था अनुसार असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याउनुपर्ने हुन्छ। त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ।
 

कमेन्ट लोड गर्नुस