सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश प्रमुख यादवलाई ‘त्यो फोन कल’ले दुबिधामा राख्छ !

२०७८ जेठ २२, ०१:२४ लखन चौधरी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुलाई भेट्न वा फोनमा कुरा गर्न निकै सास्ती खेप्नु परेको यथार्थ यहाँका सञ्चारकर्मीले बिर्सन नसक्नु छ। सर्वसाधारणको त कुरै छोडौ।

तर त्यसको ठीक उल्टो प्रदेश प्रमुख गंगाप्रसाद यादव भने जनतासँगको भेटघाट र भलाकुसारी भनेपछि हुरुक्क हुन्छन्। 

६८ वर्षीय प्रदेश प्रमुख यादव वैशाख २४ गते सुदूरपश्चिम प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन्। शुक्रबार उनी धनगढीका पत्रकारहरुसँग परिचात्मक कार्यक्रम गरेका थिए।

उनको खुलापन र सादगी छविले उनमा संवैधानिक मर्यादाको भाव नै झल्किदैन। जुन कारण आफ्नो लामो राजनीतिक जीवनपछि जनतामा छाएका उनी राजनीतिक जिम्मेवारीबाट मुक्त (प्रदेश प्रमुख) भएपछि कहिले काहीँ दुबिधामा पर्ने गरेको सुनाउँछन्।

“हेर्नु न म त राजनीति गर्ने मान्छे हो। राजनीतिबाट आएको हो। जनताले मलाई प्रदेश प्रमुख भन्दा पनि एउटा नेताकै रुपमा चिनेको छ। बुझेको छ। फोन गर्नुहुन्छ, अन्यायमा परेकाहरु भन्छन् ‘फलाना थनाका पुलिसले दुःख दियो, फलाना विकास निर्माणको काम गरिदिनुपर्यो।’ भनेर गुहार गर्छन्। केहिले काहीँ आफ्नो पदीय जिम्मेवारी हेर्छु र जनताको दुखेसो सुनेपछि एकछिन सोच्छु” सञ्चारकर्मीसँग गफिँदै प्रदेश प्रमुख यादवले भने, “प्रदेश प्रमुखको जिम्मेवारीले कतिपय कुरा बोल्न र गर्न पनि दिदैन। तथापि जनताका गुनासालाई समाधानको लागि सकेसम्म प्रयास गर्छु। स्थानीय निकाय, स्थानीय नेतासँग कुरा राख्न आग्रह गर्छु।”

प्रदेश प्रमुख पनि परिवार, समाजकै अंग भएकाले जनतासँगको समिप्यता कायमै राख्नुपर्ने बताउँदै प्रदेश प्रमुख यादवले भने, “प्रदेश प्रमुखको आफ्नै गरिमा छ। जसलाई म संविधानको परिधिभित्र रहेर कर्तव्य निर्वाह गर्छु। तर हाम्रो संविधान, कानूनले जनताको घर जान र बोल्नमा कहाँ रोकेको छ र ?”

सप्तरी जिल्लाको हनुमान नगरपालिका कंकाली वडा नं. ८ स्थायी ठेगाना रहेका यादव पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय छन्।

पञ्चायतकालीन वडाध्यदेखि प्रदेश प्रमुखसम्म
२०२२ सालमै उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए। २०२८ सालमा राप्रपा निकट युवक संगठनको जिल्ला सभापति भएका सोही वर्षमै गोरखा दक्षिणबाहु पदक समेत प्राप्त गरेका थिए।

२०३३ सालमा प्रधानपञ्च र २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि उनी सप्तरीकै जुगनिया गाविस अध्यक्ष भएका थिए। २०५९ मा राप्रपा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भएका हुन्।

राप्रपाबाटै संविधान सभा सदस्य (२०७०) बनेका उनी उपसभामुखसम्मको उच्च ओहोदामा बसिसकेका छन्। वैशाख २४ गतेदेखि भने सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी सम्मालेका हुन्। उपसभामुखको जिम्मेवारीबाट मुक्तपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए।

प्रदेश सरकारलाई जनताको समस्याप्रति गम्भीर बनेर काम गर्नुपर्ने प्रदेश प्रमुख यादवको भनाइ छ। सुदूरपश्चिम प्रदेश सम्भावनाको भण्डार भएकाले योजनावद्ध रुपमा विकास गर्नुपर्ने र जनताको समस्या समाधान गर्नुपर्ने प्रदेश प्रमुख यादवको आग्रह छ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस