सुदूर नेपाललाई विश्वसँग जोड्दै

विस्तार हुँदै कागती खेती

२०७८ जेठ २१, ११:४४ रासस

तुलसीपुर: कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ। सबैतिर कागतीका बोटैबोट देखिन्छन्। बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती। त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि। तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ। ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन्।

घोराहीमा वार्षिक तीन हजार कठ्ठा र तुलसीपुरमा दुई हजार ५०० जग्गा भाडामा लिएर रुकुम घर भई हाल दाङमा बसोबास गर्दै आएका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका हुन्। धेरै युवा विदेश पलायन भएका छन्। तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाएका छन्।

उनीहरूले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती सुरु गरेको तीन वर्ष भयो। खेती सुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन सुरु गरेका उनीहरूले वार्षिक १५/२० लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन्। “डेढ वर्षदेखि हामीले आम्दानी लिन सुरु गरेका हौँ”, वलीले भने “वार्षिक १५/२० लाख आम्दानी हुने गरेको छ।” कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने उनले बताए। उनका अनुसार सुरुमा आफूहरूले ३० लाख लगानी गरेको भएपनि अहिलेसम्म करिब एक करोड लगानी भइसकेको छ।

अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ। कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताए। “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्याइ छ”, उनले भने, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ।”

सरकारले दाङमा कागती खेती विस्तार गर्ने भएपछि आफूहरू झनै खुसी भएको उनले बताए। यसले व्यावसायिक रूपमा कागती खेती गरिरहेका किसानलाई थप प्रोत्साहन गरेको उनको भनाइ छ। अहिले दाङका दुई स्थानमा आफूहरूले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर दैशभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताए।

अहिले हामी दुई छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौँ”, उनले भने, “त्यसका लागि १०८ किसान थप गर्ने हाम्रो योजना छ।” उनका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पु¥याउने योजना छ। अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनको भनाइ छ।

आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उनको भनाइ छ। एउटा बिरुवाको फुटकरमा २५० मा बिक्री गर्ने गरिएको छ। 

कमेन्ट लोड गर्नुस