सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढुवानीमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन

गौरीफन्टा नाका
गौरीफन्टा नाका
२०७८ जेठ २०, ०६:३९ खबर संवाददाता

वीरगञ्जः सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यकीय वस्तु तथा सेवावाहेक अन्य सामग्रीलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियो।

भन्सारबाट जाँचपास भएर भित्रिएका र औद्योगिक उत्पादन बोकेका गाडी काठमाडौं उपत्यका प्रवेश गर्न पाएका थिएनन् । काठमाडौं उपत्यकाका जिल्लामा कोरोना संक्रमण तीव्र बढेपछि कडाइ गरिएको थियो।

गृह मन्त्रालयले बुधवार मातहतका २० ओटा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर ढुवानी सहजीकरण गर्न निर्देशन दिएपछि यो समस्या समाधान भएको छ। झापा, मोरड, बारा, पर्सा, रूपन्देही, कपिलबस्तु, बाँकेलगायत मुख्य नाका र राजमार्गमा पर्ने जिल्ला प्रशासनलाई ढुवानीका साधनलाई गन्तव्यसम्म जान र फर्किने सहज व्यवस्था मिलाउन भनिएको छ।

सरकारले खाद्यान्न, औषधि, उपचार सामग्री तथा उपकरणलगायत २१ वस्तुबाहेक अन्य वस्तुको ढुवानीमा रोक लगाएको थियो । भन्सारबाट निस्किएका ढुवानी साधनलाई प्रहरीले बाटोमा रोक्ने गरेको थियो।

करीब १ हप्तासम्म कन्टेनर र ट्रक ढुवानीमा विलम्ब शुुल्क ९डिटेन्सन० तिर्नु परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए। ‘सरकारी निर्देशनले नाका र राजमार्गमा ढुवानीका साधनलाई रोकिँदा औद्योगिक कच्चा पदार्थ र उत्पादनको आपूर्ति प्रभावित भएको थियो । गृह मन्त्रालयले सहजीकरणको निर्देशन दिएकाले निकास मिलेको छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले भने।

मन्त्रालयले भन्सार नाकाहरूबाट उद्योगको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ बोकेर भित्रिएका ट्रक र कन्टेनरलाई गन्तव्यसम्म जान दिन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। मन्त्रालयका शाखा अधिकृत भास्कर दाहालले हस्ताक्षर गरेको पत्रमा मालवाहक साधनलाई गन्तव्यसम्म जान र फर्किने व्यवस्थाका लागि सहजीकरण गर्न भनिएको छ।

भन्सार कार्यालयले अत्यावश्यकीयबाहेक अन्य वस्तुको समेत जाँचपास गर्दै आएका थिए । भन्सार जाँचपासमा कुनै समस्या नभए पनि ढुवानीका क्रममा बाटोमा अवरोध थियो। गृह मन्त्रालयको पत्रले त्यो समस्या पनि समाधान भइसकेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए।

वीरगञ्ज उद्योग वाणिज्य संघलगायत जिल्लास्थित उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले गृह सचिवलाई ढुवानीको अवरोध हटाउन आग्रह गर्दै मंगलवार पत्राचार गरेका थिए। लगत्तै गृह सचिवको निर्देशनमा समस्या समाधान भएको गुप्ताले बताए। अर्थिक अभियानबाट
 

कमेन्ट लोड गर्नुस