सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको बजेटमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला बन्दै बझाङ

२०७८ जेठ १९, १२:३६ रक्षा भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमध्ये बझाङमा सबैभन्दा पहिले अक्सिजन प्लान्ट जडान हुने देखिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला हुने देखिएको छ। जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ। ८० लाख बजेटबाट अस्पतालले अक्सिजन प्लान्ट जडान गरिरहेको हो।

अबको एक हप्तापछि अक्सिजन प्लान्ट जडान कार्य पूर्ण रुपमा पुरा हुने अस्पतालका कोभिड फोकल पर्सन डा मिलन खड्काले बताए। उनले अस्पतालको कोरोना वार्डमा रहेका ४४ वटा बेडमध्ये १६ वटा बेडमा अक्सिजन पाइपको व्यवस्था गरी आवश्यकता अनुसार २४सै घण्टा अक्सिजन उपलब्ध गराइने बताएका छन्। यस्तै विद्युतका लागि ट्रान्सफर्मर जोड्ने काम भइरहेको बताइएको छ।

अहिले जिल्ला अस्पतालमा १७३ वटा अक्सिजन सिलिण्डर रहेकामा २३ वटा प्रयोग गरिसकिएका खालि सिलिण्डर र १५० वटा भरिएका सिलिण्डर रहेको डा खड्काले जानकारी दिए। त्यस्तै अक्सिजन प्लान्टलाई थप प्रभावकारी बनाउन भ्याकुम र ‘मेडिकल ऐर’ पनि थप्ने योजना रहेको उनले बताए।

डा खड्काका अनुसार अहिले अस्पतालमा १२ जना कोरोना भाइरस संक्रमित बिरामीको उपचार भइरहेको छ। तीमध्ये एक जनाको आईसीयूमा, चार जनाको अक्सिजन सपोर्टमा र एक जनाको भेन्टिलेटमा राखेर उपचार भइरहेको छ।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस