सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका मृगौला पीडित जैसीको उपचारका लागि सहयोग जुटाइदै

२०७८ जेठ १८, ०६:०१ खबर संवाददाता

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका मृगौला रोगबाट पीडित रामप्रसाद जैसीको परिवारले आर्थिक सहयोग संकलन गरेको हो। 

विभिन्न व्यक्तिहरुबाट हालसम्म करिब एक लाख ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको रामप्रसादका भिनाजु पदमराज रेग्मीले जानकारी दिए । विगत ८ वर्षदेखि मृगौला रोगबाट पीडित जैसीको अहिले दुवै मृगौलाले काम गर्न छोडेको आफन्तले बताएका छन्। 

हाल उनी मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन्। आर्थिक अभावले उपचारमा समस्या भएपछि आफन्तले सहयोग गरिदिन आह्वान गरेका छन् । जैसीका बुवा छैनन् । घरमा आमा र बहिनीनामात्र छन् । दुई दिदीको विवाह भइसकेको छ।  

आम्दानीको स्रोत नहुँदा उनकी आमाले उपचार गराउन सकेकी छैनन्। विगत आठ वर्षदेखि उनका भिनाजु पदमले उपचार गराउँदै आएका छन् । मृगौला प्रत्यारोपण र उपचारमा धेरै खर्च लाग्ने भएकाले आफूले पनि व्यहोर्न सक्ने अवस्था नरहेको पदमले बताए। ‘मैले आफ्नो क्षमताले भ्याएसम्म उपचार गराएँ, मृगौला प्रत्यारोपणका लागि धेरै खर्च लाग्ने रहेछ, त्यतिधेरै रकम मैले पनि जुटाउन सक्दैन’ रेग्मीले भने, ‘त्यसैले जीवन रक्षाका लागि सहयोगका लागि याचना गर्नुको विकल्प छैन ।’

परिवारका अनुसार उनको जीवन रक्षाका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन्।

स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न डाक्टले सल्लाह दिएको पीडितका आफन्तले बताएका छन्।

मृगौला प्रत्यारोपण र उपचारका लागि १३–१४ लाखभन्दा बढी रकम लाग्ने बताइएको छ।

मृगौलापीडित जैसीका आफन्तले सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले उनका भिनाजु पदम रेग्मीको मोबाइल नम्बर ९८६९६१३७६५ मा सम्पर्क गर्न वा उनकी दिदी कृष्नाकुमारी जैसीको नाममा सिद्धार्थ बैंक लिमिटेड ठीमी भक्तपुर शाखामा रहेको खाता नम्बर ०१७१५४१४३५० मा रकम जम्मा गरिदिन आग्रह गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस