सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको तिङ्करमा सशस्त्रको बीओपी: निर्माण सुरु नहुँदै सकिन थाल्यो म्याद

२०७८ जेठ १७, ११:४१ रासस

नरेन्द्रसिंह कार्की, दार्चुला: दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम सुरु भएको छैन।

असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै सुरु हुन नसकेको हो। व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो। चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको हो। 

छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौतामा उल्लेख छ। भवन निर्माणका लागि धुलिखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ। सम्झौता अवधि सकिन एक महिना बाकी रहँदा पनि निर्माण व्यवसायीले निर्माण कार्य सुरु नै गरेको छैन। 

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गूल्म छाङ्गरुमा भाडाकै घरमा बसेको छ। छाङ्गरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा भने काम नै सुरु हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ। निर्माण व्यवसायी लालबहादुर बम भने व्यासको तिङ्करमा छ महिनामा भवन बनाउन नसकिने बताउँछन्। 

“पुसदेखि चैत÷वैशाखसम्मै हिमपात भयो। हिउँ परेको बेला त्यो क्षेत्रमा गएर भवन बनाउन सकिँदैन”, निर्माण व्यवसायी बमले भने, “अहिले मौसम ठिक भएको छ।”दार्चुलाको तिङ्कर छायालेक समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा पर्दछ। यो क्षेत्रमा निकै चिसो हुने गर्दछ। यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ। 

सशस्त्र प्रहरी पनि सँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो। “अहिलेको छ महिनामा भवन निर्माण गर्न सकिँदैन”, निर्माण व्यवसायी बम भन्छन्, “विकट ठाउँ छ, सामान ढुवानी गर्न लकडाउन छ। मजदुर लिन पनि भारतबाट अनुमति पाइने अवस्था छैन। नेपालतिर बाटोको अवस्था थाहा नै छ।” 

सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो। सरकारले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म राखेको छ। गुल्मअन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ। व्यास–२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रैमास व्यासमा राखेको हो। अहिले सशस्त्र कालापानीभन्दा झण्डै १४ किलोमिटर तल गागामा बस्दै आएको छ।

कमेन्ट लोड गर्नुस