सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक सर्वेक्षणमा सुदूरपश्चिम कस्तो रह्यो ?

२०७८ जेठ १५, ०७:४४

वीरेन्द्र भट्ट, धनगढीः शुक्रवार सार्वजनिक चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा प्रदेश र स्थानीय तहले सुदूरपश्चिम प्रदेशभित्र घोषणा गरेका विकास निर्माणका योजनाहरुको गति अपेक्षाकृत नभएको उल्लेख गरेको छ।

प्रस्तुत सर्वेक्षणले राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाई अन्तर्गत ६ वटा नहर संरचना निर्माणको काम सम्पन्न भएको देखाएको छ। आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त आयोजनाको आर्थिक वर्ष २०७६/७७ सम्मको भौतिक प्रगति १० दशमलव ४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दुई किलोमिटर मुल नहरसहित ६ वटा नहर संरचना निर्माणको काम सम्पन्न भएको हो।

त्यस्तै कैलाली जिल्लामा २० हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउने लक्ष्यसहित निर्माण थालिएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाई आयोजनाको चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९४ प्रतिशत इन्टेक निर्माण सम्पन्न भएको छ। गेटको अटोमेशिन कार्य अन्तिम चरणमा पुगेको छ भने चार रेगुलेटर घरको निर्माण सम्पन्न भएको छ। इन्टेकको जमिन मिलाउने कार्य सम्पन्न भई पावर हाउसको काम ८३ प्रतिशत सम्पन्न भएको आर्थिक सर्वेक्षण २०७७/७८ ले देखाएको हो।

आयोजना अन्तर्गत लम्की शाखाको बाँकी (७.५ किमी) मध्ये एक दशमलव ९ किलोमिटर माटोको कार्य र शून्य दशमलव एक किलोमिटर लाइनिङ तथा १० वटा भौतिक संरचना निर्माणको काम सम्पन्न भएको सर्वेक्षणले देखाएको छ।
सुदूरपश्चिम प्रदेशभित्र ९ वटा औद्योगिक ग्राम स्थापनाका लागि प्रस्ताव स्वीकृत भएको छ। त्यस्तै कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना एवंम सञ्चालनको लागि विस्तृत इन्जिनियरिङ अध्ययन एवंम वातावरणीय प्रभाव मूल्यांकन सम्वन्धि कार्य सम्पन्न भइसकेको सर्वेक्षणमा उल्लेख गरिएको छ।

प्रदेशभित्र २०७६ असारसम्म कुल जलविद्युत् उत्पादन ४३ दशमलव ४ मेगावाट रहेकोमा २०७७ फागुनसम्म आइपुग्दा बढेर ५२ मेगावाट पुगेको हो। सुदूरपश्चिम प्रदेशभित्र २१४ किलोमिटर कालोपत्रे सडक निर्माण भएको सर्वेक्षणले देखाएको छ। धुले÷कच्ची सडक तीन हजार ९५४ किलोमिटर, ग्रावेल एक हजार १५८ गरी कुल पाँच हजार ३२६ किलोमिटर सडक निर्माण भएको छ। यो प्रदेशगत हिस्साको हिसाबले ८ दशमलव ३८ प्रतिशत हो भने सडक घनत्वको हिसाबले शून्य दशमलव २७ प्रतिशत हो।

गत आर्थिक वर्षमा सवैभन्दा उच्च आर्थिक वृद्धिदर रहेको सुदुरपश्चिम प्रदेश यस वर्ष भने सीमान्त ह्रास आएको देखाइएको छ। सेवा क्षेत्र, कृषि क्षेत्र र उद्योग क्षेत्रमा पनि सुदूरपश्चिम प्रदेशले अपेक्षित प्रगति गर्न नसकेको देखाइएको छ।
आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेशभित्र कुल पाँच हजार चार वटा विभिन्न कम्पनीहरु स्थापना भएको पाइएको छ। जुन प्रदेशगत हिसाबले यो एक दशमलव ९ प्रतिशत मात्र हो।

सुरुदेखि अहिलेसम्म लघु, घरेलु तथा साना उद्योग ३२ हजार ५५८ दर्ता भई ती उद्योगहरुले रोजगारी प्रस्ताव एक लाख ५७ हजार ५७९ जनालाई गरेका छन्। ती उद्योगहरुमा ३९ अर्व लगानी प्रस्ताव गरिएको छ। यो अवधिमा पूर्वाधार तथा प्रविधिको विकास उल्लेखनीय रहेको र  आमनागरिकहरुको पहुँच अभिवृद्धि भएको सरकारको दाबी छ।
 

कमेन्ट लोड गर्नुस