सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलिका मुद्दाहरुको चाङ

२०७८ जेठ १२, ११:३४ खबर संवाददाता

वीरेन्द्र भट्ट

धनगढीः कैलालीमा भन्सार छलिका मुद्दाहरुको चाङ लागेको छ। जिल्लाभित्र भन्सार छलिका घटनाहरु एकपछि अर्को बढ्दै गएको पाइएको छ। सीमा सम्वन्ध जोडिएका क्षेत्रहरुबाट मात्र नभएर सीमा छलेर विभिन्न प्रयोजनका सामग्रीहरु आयात हुने क्रम बढेपछि कैलालीमा भन्सार छलिका मुद्दाहरुको चाङ नै लागेको हो।

कैलाली र कञ्चनपुर प्रशासनले कोरोना भाइरसले भयावह रुप लिइरहेको भन्दै निषेधाज्ञा जारी गरेको भएपनि सीमा क्षेत्रबाट हुने चोरी तस्करीमा भने कुनै कमि आएको छैन्। सशस्त्र र जनपद प्रहरीले मरामद गरिएका सामग्रीहरु भने भन्सार पठाउने गरेको छ।

२०७७ साउनदेखि २०७८ बैशाखसम्म सशस्त्र प्रहरीले ३२ लाख ७४ हजार ४५२ मुल्य बरावरका विभिन्न सामगी्रसहित १४५ मुद्दा र जनपद प्रहरीले २९ लाख १५ हजार ४५९ मुल्यसहित ७६ मुद्दा गरी २२१ मुद्दा कैलाली भन्सार कार्यालयमा दायर गरेको छ।

कुल ६३ लाख २३ हजार ८११ रुपैयाँ बरावरका विविध सामग्रीसहित सशस्त्र र जनपद प्रहरीले मुद्दा दायर गरेको हो। हरेक महिना भन्सार छलिका सामग्री मरामद हुने क्रम बढ्दो छ। खुला सीमानाका कारण चोरी तस्करी रोक्न चुनौतिको विषय भइरहेको अधिकारीहरु बताउँछन्। भन्सार कार्यालयले रोक्न नसक्ने गरी चोरी तस्करी बढेको कैलाली भन्सार कार्यालयकी भन्सार अधिकृत अम्बिका केशीले बताइन्।

कैलालीमा एक करोड ३१ लाख ८१ हजार विगो दाबीसहित सशस्त्र प्रहरीले २६७ मुद्दा र जनपद प्रहरीले १८३ गरी भन्सार सम्वन्धि ४५० मुद्दा समेत दायर गरेको छ। सुदूरपश्चिम प्रदेशको सवै भन्दा ठुलो भन्सार कार्यालय कैलाली भन्सार कार्यालयमा भन्सार छलिका सामग्रीसहित विगो दावी मात्र नभएर भन्सार चोरी तस्करीमा समेत संलग्नहरुको संख्या बढ्दो क्रममा देखिएकाले भन्सार कार्यालयमा दुवै प्रकारका मुद्दाहरुको चाङ लागेको पाइएको हो।

सीमा क्षेत्रको निगरानी गर्दै आएको सशस्त्र प्रहरीले भन्सार सम्वन्धि सवै भन्दा बढि विगोदावीसहित मुद्दा दायर गरेको छ। भन्सार सम्वन्धि सवै भन्दा बढि मुद्दा सशस्त्र प्रहरीले पेश गरेको छ। सशस्त्र प्रहरीका युनिटहरु नाकानाकामा परिचालित गरिएकाले भन्सार सम्वन्धिका मुद्दाहरु बढेको देखिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३५ हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी गराए। यसका साथै खुला सीमानाका कारण पनि चोरी तस्करी रोक्न चुनौति भइरहेको अवस्था सशस्त्र प्रहरीले नाकाहरुमा विशेष निगरानी बढाइरहेको उनले बताए।

कैलाली भन्सार कार्यालयमा भन्सार छलिका ४५० र लीलाम भएका सामग्री सम्वन्धि २२१ प्रतिवेदन मुल्यसहित सशस्त्र र जनपद प्रहरीले मुद्दा दायर गरेका छन्। लीलाम भएका सामग्रीबाट भन्सार कार्यालयले ६३ लाख २३ हजार ८११ रुपैयाँ राजस्व असुली गरेको छ।

भन्सार सम्वन्धिका मुद्दाहरु अभिलेअनुसार हरेक वर्ष बढ्दो क्रममा देखिएको कैलाली भन्सार कार्यालय मुद्दाफाँटका बाबुराम बलमपाकीले जानकारी गराए। उनले सशस्त्र र जनपद प्रहरीले दायर गरेका मुद्दाहरुको चाङ नै लागेको बताए। भन्सार कार्यालयभित्र भन्सार छलेर ल्याएको ठुलो परिणामको मल समेत राखिएको छ।

खुला सीमानाका कारण विशेष गरी कैलाली कञ्चनपुरमा भन्सार सम्वन्धि मुद्दा बढेको पाइन्छ। साथै विगतमा नेपाल प्रहरीले मात्र सीमाको सुरक्षा गर्दै आएकोमा केहि वर्षयता सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रको निगरानी बढाइरहेको अवस्थामा पनि भन्सार छलीका घटनाहरुमा कमि नआउनु चिन्ताको विषय भएको अधिकारी बताउँछन्। 

कमेन्ट लोड गर्नुस