सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारीकै बीच कैलालीमा दैनिक उपभोग्य वस्तुको मूल्य अकाशियो, भएन बजार अनुगमन

२०७८ जेठ ९, ११:४४

वीरेन्द्र भट्ट
 

धनगढीः यतिबेला सबैको ध्यान कोरोना महामारी नियन्त्रणमा केन्द्रित छ। यसैबीच स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा बजार अनुगमन प्रभावकारी नभएको मौका पारी बजारमा कतिपय सामानको कृत्रिम अभाव सृजना भइरहेको छ भने कतिपय वस्तुको अस्वभाविक मूल्य वृद्धि गरिएको छ। जसले आमउपभोक्तालाई दैनिकी चलाउन निकै मुस्किल भएको छ।

तर नियमनकारी निकाय भने बेखबर रहेको पाइएको छ।महामारीका बेलामा माग बढ्ने र आपूर्ति प्रभावित हुने हुँदा मूल्य वृद्धि हुने गरेको पाइन्छ। यसलाई अनुगमन गरेर बजारमा मनपरी हुन नदिने काम सरकारको हो।

तर, सरकारले एकातिर बजार अनुगमन प्रभावकारी ढंगले गर्न सकेको छैन भने अर्कातिर आपुर्ति कसरी भइरहेको छ र बजारमा उपभोग्य वस्तुको भण्डारण कति छ भन्ने यथार्थ तथ्यांक पनि सरकारसँग छैन।

 
दैनिक उपभोग्य वस्तु किन्नै नसकिने गरी मूल्य बढेको गुनासो गर्दैै धनगढीका स्थानीय भीष्म साउदले भने, “खाने तेल गत वर्षकोभन्दा दोब्बरले बढेको मात्र छैन, १० रुपैयाँमा पाइने कतिपय वस्तुको मूल्य १५ रुपैयाँसम्म लिने गरेको बताए। 


सामान्यतया मूल्य वृद्धि भइसकेपछि त्यसको मूल्य तल झर्ने सम्भावना नहुने बजारको प्रवृत्ति विश्वभर नै रहेको पाइन्छ। यस्तोमा मूल्य वृद्धिलाई नियन्त्रणमा राख्नु निकै चुनौतीपूर्ण मानिन्छ। अहिले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि अस्वाभाविक ढंगले बढेको उपभोक्ताहरुको गुनासो छ। खाने तेलको मूल्य अघिल्लो वर्षको बन्दाबन्दीको अवधिदेखि नै बढ्न थालेको हो। 

चामल, दाल जस्ता वस्तुको मूल्य वृद्धि गरिए पनि थोक व्यापारीले खुद्रा व्यापारीलाई बिल नै नदिएको गुनासो गरेको पाइन्छ। यसले मूल्य वृद्धि अस्वाभाविक भएको तथ्यलाई पुष्टि गर्छ। 

सरोकारवाला बेखबर

यस्तो गुनासो आए पनि सरकारले विना बिल सामान बेच्ने र किन्ने दुवैलाई कारबाहीको दायरामा ल्याउन पहल गरेको भने पाइदँैन। सरकारले अनुगमन गर्दै नगरेको होइन तर जति अनुगमन गरिएका छन् ती परिणाममुखी तथा स्थिति बसाल्नेतर्फ भन्दा पनि प्रचारका लागि गरेको अनुभूति हुन्छ।

मूल्यमा फरक पाइएको केही व्यापारीलाई कारबाही गर्ने र त्यसको जानकारी सञ्चार क्षेत्रलाई दिएर ठूलै उपलब्धी प्राप्त गरेको विश्लेषण गर्ने सरकारी कार्यशैली उपयुक्त देखिँदैन।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले चामल र तेलको मूल्य अस्वभाविक रुपमा बढेको व्यापक गुनासो कार्यालयसम्म आउने गरेको जानकारी गराए।

बजार अनुगमन नियमित रुपमा भइरहेको बताउँदै उनले उपभोक्ता उपभोग्य सामग्री खरिद गर्दा बिल लिने प्रवृत्ति नभएकाले यस्तो समस्या पटक–पटक हुने गरेको उनको भनाइ छ।

कार्यालय प्रमुख पुनमगरले कसैले बढी मूल्य लिएर सामग्री बिक्री गरेको प्रमाणसहित आएको खण्डमा तत्काल कारवाही गर्न कार्यालय जुनसुकै बेला पनि तयारी अवस्थामा रहेको भन्दै प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रणलगायत नियमनकारी निकायसँग मिलेर संयुक्त बजार अनुगमन भइरहेको छ।

निषेधाज्ञा जारी गरिएपनि बजार अनुगमन भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ। संयुक्त बजार अनुगमन सरकारी पक्षबाट भइरहेको दावी गरिएपनि उपभोक्ताले भने त्यसको अनुभूति गर्न पाएका छैनन्।

प्रत्येक वस्तुको मूल्य कुनै न कुनै रुपमा बढेको छ नै तर उपभोक्तालाई समस्या पर्ने गरी बजारमा त्यस्तो कुनै समस्या नरहेको बताउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइरालाले हामीले अनुगमन गर्दा कहिकतै मुल्य वृद्धि भएको पाइएको छैन्। कहिकतै समस्या भए जानकारी गराउन समेत उनले उपभोक्ता समक्ष आग्रह समेत गरेका छन्।

नेपाल राष्ट्र बैंकले मूल्य वृद्धि नियन्त्रणमै रहेको देखाएको छ। अर्थात् अपेक्षित तहमा नपुगेको उसको विश्लेषण छ। खासगरी तरकारी र तेललगायत वस्तुको मूल्य भने उसले पनि बढेकै देखाएको छ।

मूल्यवृद्धिका बहुआयामिक असर हुन्छन्। यसले ज्याला वृद्धिका लागि दबाब पार्छ र ज्याला वृद्धि गरिए मूल्य वृद्धिमा नै दबाब पर्छ। त्यसो हुँदा मूल्य वृद्धिलाई निश्चित तहमा रोकेर राख्न सरकारले दिगो संयन्त्र र रणनीति अपनाउनु आवश्यक छ।
 

कमेन्ट लोड गर्नुस