सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रशासनद्वारा नियन्त्रित धनगढीको मालिका अक्सिजन उद्योगको मनपरी, ४ सय पर्ने सिलिण्डर १५ सयमा धमाधम बिक्री

२०७८ जेठ ८, ११:१६

वीरेन्द्र भट्ट
धनगढीः ठूलो सिलिण्डरमा १ पटक अक्सिजन भरेको सरदर ४ सय रुपैयाँ र सानो सिलिण्डरमा भरेको २ सय ५० रुपैयाँ मात्र लाग्छ। 

तर धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगले भने एउटा सिलिण्डर भरेवाफत १ हजार ५ सय रुपैयाँ लिने गरेको छ।

सेती प्रादेशिक अस्पताललाई भने सो उद्योगले ४ सय रुपैयाँका दरले प्रति अक्सिजन सिलिण्डर उपलब्ध गराउने सहमति गरेको छ। तर सो उद्योगले दिनमा ८ देखि १० सिलिण्डर मात्रै उपलब्ध गराउँदै आएको अस्पताल प्रशासनले जनाएको छ। जसले उपचारमा समस्या भइरहेको बताएको छ।

तर बजारमा भने अक्सिजनको अभाव देखाएर कालोबजारी भइरहेको पाइएको छ। दैनिक १ सय ६० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको मालिका उद्योगले सेती प्रादेशिक अस्पताललाई प्रतिसिलिण्डर ४ सय रुपैयाँका दरले अक्सिजन उपलब्ध गराउँदै आएकोमा सर्वसाधारणबाट भने ४७ लिटरको अक्सिजन सिलिण्डर १ हजार ५ सय रुपैयाँका दरले बिक्री गर्दै आएको हो।

मालिका अक्सिन उद्योगका सञ्चालक नरेश शाहले १० लिटर अक्सिजन भरेको साढे ६ सय र ४७ लिटर अक्सिजन भरेको एक हजार ५ सय रुपैयाँ लिइरहेको स्वीकारेका छन्। तर सेती प्रादेशिक अस्पताललाई भने अक्सिजन भरेको ४ सय रुपैयाँ मात्र लिइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिसिलिण्डर ४ सय रुपैयाँका दरले दैनिक ४५ सिलिण्डर दिने सहमति जनाएको उद्योगले सेती प्रादेशिक अस्पताललाई ८ देखि १० वटा सिलिण्डर मात्रै उपलब्ध गराउँदा विरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ। 

सेती अस्पतालमा दिने सिलिण्डरलाई कटौती गर्दै मंहगो मूल्यमा सर्वसाधारणलाई अक्सिजन बिक्री गर्दै आएको उद्योगलाई प्रशासनले पूर्ण रुपमा आफ्नो नियन्त्रणमा नलिएसम्म अक्सिजनमा कालोबजारी बढ्दै जाने अधिकारीहरु बताउँछन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले नेपालगन्जबाट दैनिक ८० वटा र अस्पतालको आफ्नै प्लान्टबाट ६० तथा मालिका अक्सिजन उद्योगबाट दैनिक ८ देखि १० वटा सिलिण्डर मात्र आइरहेको जानकारी गराए। मालिकाले सेतीमा दिने अक्सिजनको मात्र घटाउँदै सर्वसाधारणबाट प्रति सिलिण्डर अक्सिजन भरेको १ हजार पाँच सय लिइरहेको छ।

त्यही उद्योगबाट महंगोमा ग्यास लिएका बिरामीका आफन्तजनहरु सेतीसहितका अस्पतालमा  लग्न बाध्य छन्।

तर अक्सिजन उद्योगका सञ्चालकले भने सेती अस्पताललाई दैनिक ३० देखि ६० सिलिण्डरसम्म अक्सिजन उपलब्ध गराउँदै आएको दाबी गर्दै आएको छ। उद्योग सञ्चालक शाहले कहिलेकाहीँ विद्युत समस्याका कारण २० र विद्यूत नियमित भएको दिनमा ५० देखि ६० वटा सिलिण्डर दिँदै आएको दावी गरेका छन्।

उद्योगले सर्वसाधारणबाट १० लिटर अक्सिजन भरेको ६ सय ५० तथा ४७ लिटर अक्सिजन भरेको १ हजार ५ सय असुल्दै आएको छ।

प्रशासन बेखबर
कोरोना महामारीले विकराल अवस्था सिर्जना गरेपछि प्रहरी प्रशासनको अर्ध नियन्त्रणमा सो उद्योग रहेपनि जिल्ला प्रशासन कार्यालय भने ग्यास लिलिण्डरमा मूल्यमा भइरहेको मनपरीबारे अनविज्ञ देखिएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले दैनिक ४५ वटा सिलिण्डर दिने सैद्धान्तिक सहमति भएको अवस्थामा दिनमा ८÷१० सिलिण्डर मात्र दिइरहेबारे अस्पतालले कुनै जानकारी नगराएको बताए। 

उनले सर्वसाधारणबाट १ हजार ५ सय रुपैयाँ अक्सिजन भरेवाफत पैसा लिएको प्रमाणसहित आए उद्योगलाई तत्काल कारवाही गरिने समेत गराए।

कमेन्ट लोड गर्नुस