सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क दुई वा तीन गुणा धेरै’

२०७८ जेठ ७, ०८:३८ रासस

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई या तीन गुणा बढी रहेको बताएको छ। 

सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको ज्यान गइसकेको छ। 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ।  

प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३० लाख या बताइएको भन्दा १२ लाख धेरैको ज्यान गएको छ। 

‘प्रत्यक्ष रूपमा होस् या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ। 

विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले भन्नुभयो, ‘वास्तवमा ज्यान गुमाउनेको तथ्याङ्क दुई या तीन गुणा धेरै हुन सक्छ। यो तथ्याङ्क ६० देखि ८० लाख छ।’

तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। सङ्गठनकाअनुसार महामारी सुरु हुने बेलामा कैयौँ व्यक्तिको मृत्यु उनीहरूमा कोभिड–१९ पुष्टि हुनुभन्दा पहिले नै भएको थियो। 

साथै केही देशसँग त्यस समयमा कोभिड–१९ का कारण हुने मृत्युसँग जोडिएको डाटा राख्नका लागि उचित प्रक्रियासमेत नभएको सङ्गठनले बताएको छ।  एजेन्सी 
 

कमेन्ट लोड गर्नुस