सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यासमा हिउँ पग्लिएपछि गस्ती बढाउँदै सशस्त्र प्रहरी

२०७८ जेठ ४, ०३:५४ नरेन्द्र कार्की

दार्चुला : दार्चुलाको व्यासमा हिउ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती बढाएको हो। नम्बर ५० गुल्म प्रमुख शाहको नेतृत्वमा यसै साता माथिल्लो कौवा र कालापानी क्षेत्र वरपर गस्ती गरिएको छ। 

नेपालको सशस्त्र प्रहरीले कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । सशस्त्र प्रहरी छाङ्गरुको गागामा छ। गागाबाट कालापानीसम्म पुग्न १४ किलोमिटर दूरी पर्दछ।  कालापानीभन्दा ३०० मिटर नजिककै गस्ती गर्ने गरेका छौंँ, व्यासमा कार्यरत एक सुरक्षाकर्मीले भने।

गागामा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नम्बर १ स्थित तिंकर क्षेत्रसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गर्ने गरेका छन्।

सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । छाङ्गरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिदेखि भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो। यो वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना व्यासको छाङ्गरुमा बसेको थियो। 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस