सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एकै महिनामा २४३ संक्रमित मृत्युको जिम्मेवार को ?

सामाजिक विकास मन्त्रालय नेतृत्वको ‘अपरिपक्वता र अदुरदर्शीता’को पराकाष्ठाः 

२०७८ जेठ २, ०९:०२ लखन चौधरी

धनगढीः हाल सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित नभएको सायदै कुनै टोल बाँकी होला। बैखाख महिना सुदूरपश्चिम प्रदेशवासीले निकै नै अत्यासपूर्ण अवस्थामा गुजारेका छन्। 

सामाजिक विकास मन्त्रालयकै तथ्यांक अनुसार एक महिनाको अवधिमा मात्रै २४३ जनाले ज्यान गुमाउनु पर्यो। ११ हजार २५० जना संक्रमित थपिएका छन्। यहाँका सरकारी तथा निजी अस्पतालका शैय्याहरुमा प्राणवायु अक्सिजन नपाउँदा छट्पटाएरै कयौंले प्राण छोडिरहेका छन्।

उसो त विश्व स्वास्थ्य संगठन र विशेषज्ञले बारम्बार कोरोनाको अर्को लहरको चेतावनी दिँदै आएका थिए। कोरोना जोखिम यथावत थियो। तर, प्रदेश सरकारले न कोरोना रोकथाम र नियन्त्रणका लागि ठोस प्रयास जारी राख्यो, न अक्सिजन प्लान्ट जडान, कोभिड अस्पतालको विस्तार तथा आइसोलेसन सेन्टर व्यवस्थापनमा नै ध्यान दियो। अन्ततः सुदूरपश्चिम प्रदेशभरि अक्सिजनको हाहाकार भएको छ। तर यहाँको सरकार रमिते झै बनेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षको मंसिरमा नै प्रदेशमा अक्सिजन प्लान्ट जडान, एम्बुलेन्स र शववाहन खरिदका लागि १३ करोड रुपैयाँको बजेट निकासा दियो। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झलकराम अधिकारी भन्छन्, “आर्थिक मामिला मन्त्रालयले गत पुसमा नै अक्सिजन प्लान्ट खरिद गर्न सहमति दिएको छ। सहमति प्राप्त गरेपछि खरिद प्रक्रिया अगाडि बढाउले दायित्व सामाजिक विकास मन्त्रालयको हो। हामीले आफूले नगरेको कामको अपजस अरुलाई दिनु हुन्न।”

तर, ५ महिनासम्म बजेट पनि कार्यान्वयन हुन सकेन। प्रदेश सरकारकै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव अधिकारीको भनाइ अनुसार बजेट कार्यान्वयनमा तथा समयमा अक्सिजन प्लान्ट जडान नहुनुमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मुख्य जिम्मेवार देखिएको छ। 

कार्य अनुभव नहुँदा ढिला भयोः सचिव बिष्ट
हाल प्रदेशको स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी बहन गरेको सो मन्त्रालयका सचिव रघुराम विष्टले कस्तो किसिमको अक्सिजन प्लान्ट खरिद गर्ने र महामारीको यति भयावह अवस्था सिर्जना हुन्छ भन्ने आँकलन गर्न नसक्दा समस्या भएको बताइरहेका छन्। 
उनले भने, “हामीले नचाहेर होइन। हामी एग्रिसिभ भएर लागेका छौ। महामारी यति चाँडै फैल्छ भनेर परिकल्पना गर्न सकेनौं र अक्सिजन प्लान्ट कुन किसिमको ल्याउनेमा दुबिधा भयो । अनुभव पनि भएन, त्यही भएर ढिला भयो।”

निकै ढिलो गरी सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट खरिद गर्न बजेट पठाएपछि खरिदमा भने अझै अन्योलता कायमै रहेको छ। विवादित पनि उत्तिकै बनेको छ।

एउटा ठूलो अक्सिजन प्लान्टसहित ६ मिनी प्लान्ट खरिद गर्न सामाजिक विकास मन्त्रालयले गत मंसिरमै स्रोत सुनिश्चिततासहित सहमति पाए पनि जिल्ला अस्पतालहरुलाई भने बैशाख ६ गते मात्रै रकम सुचिश्चताको पत्र पठाएपछि अन्योलता सिर्जना भएको हो। ८० लाखका दरले बजेट पाएका जिल्ला अस्पतालहरु बोलपत्र मै अल्झिएका हुन्।

तर सामाजिक विकास मन्त्रालयले खरिदको कार्य अगाडि बढेको दाबी गर्न थालेको छ। मन्त्रालयका सचिव बिष्टले केही दिनमै खरिद हुने बताए।

त्यस्तै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनशक्ति अभावले काम गर्न नसकिररहेको प्रतिक्रिया दिएका छन्।

दिनेशखबरसँग उनले भने, “पहिलो कुरा त हामीसँग जनशक्ति छैनन्। सुदूरपश्चिममा जनशक्ति आउन पनि चाहदैनन्। अर्कोकुरा  हामीलाई अक्सिजन प्लान्ट कस्तो किन्नेबारे अन्योल भयो। त्यसबारे छलफल गर्दागर्दै ढिला भयो। अक्सिजन प्लान्टसहितको उपकरण खरिदको लागि हामीले टेण्डर आह्वान गर्यौ तर टेण्डर नै परेन। त्यसले पनि ढिला भएको हो। अब खरिदको लागि प्रक्रिया अगाडि बढाइसकेका छौ।”

त्यस्तै मन्त्री सुवेदीले जेठ महिनामा कुनै अप्रिय घटना हुन नदिनतर्फ सचेत भइ काम अगाडि बढाएको बताए।

सम्बन्धित समाचार
अक्सिजन प्लान्ट खरिद गर्न पुसमै सहमति, प्रक्रिया हालसम्म नथालेको खुलासा
सुदूरका जिल्ला अस्पतालः अक्सिजन प्लान्ट खरिद गर्न बजेट पाए तर बोलपत्रमै अल्झिए

 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस