सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

। फोटो स्रोत ।
२०७८ जेठ २, ०६:२३ रासस

काठमाडौंँ: धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) फुटबलको च्याम्पियन बनेको छ। 

धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी  मेसौके ओलोमोउले निर्णायक गोल गरेका हुन्। उनले खेलको २१ औंँ मिनेटमा सो गोल गरेका थिए। ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बने। उपाधिसँगै काठमाडौँले ३५ लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता धनगढीले १५ लाख प्राप्त गरेको छ। 

लको २९ औंँ मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजीकैबाट बाहिरिएको थियो। खेलको ३० औंँ मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल गर्नबाट चुके। पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन। मध्यान्तरपछि खेलको ५५ औंँ मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडौँका गोलकिपर विकेश कुथुले जोगाए। 

खेलको ६५ औंँ मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोके। यस्तै खेलको ७५ औंँ मिनेटमा काठमाडौंँका ओलोमोउको लामो प्रहार खेर गयो। खेलको ८२ औंँ मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुके। खेलको ९० औंँ मिनेटमा काठमाडौंका बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन। 

काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला आजको फाइनल खेलमा लिएको थियो। फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित भए। यस्तै काठमाडौंँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित भए। दुवै जनाले जनही रु २५ हजारसहित ट्रफी प्राप्त गरे। नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए। 

कोभिड –१९ का कारण प्रतियोगितामा दर्शकलाई खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन। यही वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगितामा काठमाडौँ र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो। राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए।   

कमेन्ट लोड गर्नुस