सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञापछि बजार नपाएका कृषकको पीडाः ९० क्वीन्टल बन्दा कसरी फालौं ?

२०७८ वैशाख ३०, ०१:४९ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिका २ मा तरकारी खेती गर्दै आएका सञ्जिव चौधरीको ६ कट्ठा जमिनमा बन्दागोभी लोभलाग्दो गरी फलेको छ। उनी धनगढी बजारमा पुर्‍याउने योजनामा थिए। 

तर बढ्दो कोरोना महामारीले कैलालीको स्थानीय प्रशासनले बैशख १६ गते निषेधाज्ञा जारी गर्यो। उनको बजार योजना त्यही नै तुहियो। स्थानीय प्रशासनले तरकारी बिक्री वितरण गर्न दिने भने पनि तरकारी बजार प्रायः बन्द जस्तै भएपछि उनको तरकारी अब बारीमै सड्ने भएको हो।

 उनले भने, “करिब १० कट्ठा जमिन मध्ये ६ कट्ठामा बन्दागोभी र अरु जमिनमा प्याज, मकै र अन्य तरकारी रोपेको थिए। मकै र प्याज त भण्डारण गरेर जोखाए तर यो बन्दासहितका तरकारी कसरी जोगाउनु ? बजार सबै बन्द छ। कहाँ गरेर बेच्नु, २/४ दिन अझै हेर्छु। नभए फाल्नुको विकल्प देख्दैन।”

उनको बारीमा हाल ९० क्वीन्टल बढी बन्दागोभी रहेको छ। जुन बजार पाउन नसकेको हो।

लामो समयदेखि तरकारी खेती गर्दै आएका उनले अघिल्लो वर्षमा भएको लकडाउनको बेलामा पनि तरकारीमा नोक्सानी बेहोरेको बताउँछन्। तंग्रिन नपाउँदै पुनः नोक्सानी भएपछि व्यवसाय नै फेर्न सोचमा पुगेको उनको भनाइ छ।

धनगढी उपमहानगरपालिका १२ मा तरकारी खेती गर्दै आएका अर्का कृषक राजु चौधरीको पीडा पनि सञ्जिव चौधरीको जस्तै छ। उनले भने, “तरकारी बिक्री गर्न जाउँ, महामारी र प्रशासनको डर, नजाउँ बारीमै तरकारी कुहिन थाल्यो।”

कैलालीका सञ्जिव र राजु प्रतिनिधि कृषक मात्रै हुन्। उनी जस्तै अन्य कृषकलाई यो वर्ष पनि तरकारीले बजार नपाउने चिन्ता बढेको छ।

जिल्लामा कोरोना भाइरसको संक्रमणको त्रासले निषेधाज्ञा जारी गरिएकाले तरकारी बिक्री नहुने चिन्ता किसानहरुलाई छ। गत वर्षमा समेत कोरोनाको संक्रमणको त्रासले गरिएको निषेधाज्ञाका कारण चौपट बनेका किसानहरु यो वर्षमा गरिएको निषेधाज्ञाले चिन्तित बनेका हुन्।

बारीमा तरकारी बिक्री गर्न तयार भएपनि बजार नपाएको उनीहरुले बताएका छन्। धनगढी, अत्तरिया लगायतका क्षेत्रका कृषि हाटबजारहरु बन्द रहेको र अन्य बिक्री गर्न ठाउँ नभएकाले उनीहरुले चिन्ता व्यक्त गरेका छन्। 

धनगढीको त्रिनगर कृषि हाटबजार, अत्तरियाको कृषि थोकबजार बन्द रहेकाले तरकारी कहाँ बिक्री गर्ने भन्ने चिन्ता उनीहरुको छ। निषेधाज्ञाका कारण किसान मार्कामा रहेका धनगढीको त्रिनगर कृषि हाटबजारका अध्यक्ष भवानसिँह चैसिरले बताए। 
उनले भने, “किसानहरुको तरकारी तयार भएको छ। तर हाटबजार बन्द छ। बिहान मात्र सञ्चालन गरेपनि प्रहरीले बन्द गर्न भन्छ।”

हाटबजारसम्म आएका किसानलाई प्रहरीले लखेट्दै आएको छ। तर स्थानीय प्रशासन भने किसानलाई तरकारी बिक्री गर्न कुनै समस्या नहुने दाबी गर्दै आएको छ। 

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले किसानले तरकारी बिक्रीमा कुनै रोक नभएको बताए। उनले भने, “बिरामीहरुका लागि पनि तरकारी अति आवश्यक हो। तरकारी बिक्रीमा रोक लगाएका छैनौ।”
स्थानीय स्तरमा उत्पादित तरकारीले बजार नपाएका बेला भारतीय तरकारी भने निर्वाध रुपमा नेपाल भित्रिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस