सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनको व्यथा (कविता)

२०७८ वैशाख २७, १०:४५

मनमा सल्किएको आगोको ज्वाला,
निभाउने यत्न गरिने छैन त्यहाँ ।
पिँजडामा कैद गरिएका चरीका,
आवाजहरु सुनिने छैन यहाँ ।।

जताततै चीत्कारै चीत्कार अनि,
खुबै खैलाबैला होहल्ला सुनियो।
सदाचारी अगाडि  बढ्नुपर्छ भन्ने थियो, 
प्रभाव गतिको प¥यो व्यभिचारी चुनियो।।

कैद गरिएका मनका पीडा 
सुनाउन सकिने छैन अहिले।
चरम दुखे कोट्याएका घाउहरु
मेरो वास्ता नै गरिएन पहिले।।

ती घाउहरु निको पार्न म कुनै
अस्पताल धाउन सकुँला र?
पीडाहरु यस्तै चर्किने हुन् भने
म पनि कति दिन बाँचुला र!

आँसु नै आँसुको सागर यहाँ 
आँसु नै ज्वलन्त उदाहरण बन्यो।
धेरै दुःख सहन सक्दो रहेछ
पीडा ! पीडा !! कोमल मन यो।।

भन्नेहरुले नै भावना बुझ्दैनन् 
भन्छन् यहाँ कहाँ दुखेको छ।
दुखाइलाई कसरी वृत्तान्त गरुँ
मेरो हृदय अनि मनमा लुकेको छ।।

-बिमला भण्डारी सामन्त 
पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ बैतडी,  हाल भारतको नयाँ दिल्ली 

कमेन्ट लोड गर्नुस