सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब अस्पताललाई अक्सिजन दिन स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य

२०७८ वैशाख २६, ०१:५६ खबर संवाददाता

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पातलहरुमा अक्सिजन उपलब्ध गराउन आफ्नो सिफारिस अनिवार्य गरेको छ।

मन्त्रालयले अक्सिजन उद्योगीहरुलाई परिपत्र गर्दै कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई मन्त्रालयको सिफारिस बिना अक्सिजन नदिन भनेको हो।

स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले १० वटा अक्सिजन उद्योगलाई पठाएको पत्रमा धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा बिक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको उल्लेख छ। सरकारको पत्रसँगै उद्योगीहरुले अक्सिजन लिन गएका अस्पतालहरुलाई मन्त्रालयको सिफारिस लिएर आउनु भन्दै फर्काउन थालेका छन्।

मन्त्रालयको परिपत्रसँगै आफ्नो अक्सिजन प्लान्ट नभएका अस्पतालहरुले अक्सिजन अभावमा उपचार गर्नै कठिन भएको बताएका छन्।

हिजो चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ति निकालेर अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको बताएका छन्। ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट पारेका छन्।

सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने बताए पनि काठमाडौं लगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो । काठमाडौंका धेरै अस्पतालहरुले अक्सिजन अभाव भएको बताएका छन्।

अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन्।

 

कमेन्ट लोड गर्नुस