सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना महामारीले व्यापार व्यवसाय ठप्प, वैशाख २५ गतेभित्रै कर चुक्ता गर्न राजस्व कार्यालयको ताकेता

सुदूरपश्चिमका उद्योगी व्यवसायीलाई कर तिर्नै समस्या

२०७८ वैशाख २५, ०७:२७

वीरेन्द्र भट्ट, धनगढीः कोरोना महामारीले विकराल रुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प छ। तर आन्तरिक राजस्व कार्यालयले भने वैशाख २५ गतेभित्र राजस्व चुक्ता गर्न ताकेता गरेको छ। 

कोरोना महामारी र जारी निषेधाज्ञाका कारण व्यापार व्यवसाय नै ठप्प भएपछि सुदूरपश्चिमका उद्योगी व्यवसायीले कर तिर्न समस्या भएको बताएका हुन्। अहिलेकै अवस्थामा कुनै पनि हालतमा कर तिर्न सकिने अवस्था नरहेको निजी क्षेत्रको भनाइ रहेको छ।

स्वास्थ्य संवेदनशीलताका कारण उद्योगहरुमा कर्मचारी तथा कामदार आवतजावत गर्न नसकेकाले समस्या भइरहेको बताइएको हो। कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले दैनिक उपभोग्यवाहेकका व्यापार, व्यवसाय, उद्योग तथा आवागमनसमेत बन्द भएकाले समस्या भएको निजी क्षेत्रको गुनासो छ।

विगतको बन्दाबन्दीले मारमा परेका उद्योग व्यवसाय सामान्य गतिमा अघि बढ्नेक्रममा रहेका बेला कोरोनाको दास्रो लहर शुरू भएको र नियन्त्रणका लागि अपनाइएको निषेधाज्ञाले थप मार परेका हुन्। ‘पछिल्लो निषेध आदेशबाट अवस्था झनै जटिल हुन पुगेको छ। कम्तिमा कर दाखिलाको समयमा सहुलियत पाएपनि राहत हुने थियो,’ नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भने। 

निषेधाज्ञा हटेपछि कर विवरण र कर चुक्ता गर्नसक्ने सहुलियत दिन उद्यमी व्यावसायीले माग गरेका छन्। यो अवधिमा कर तिर्न नसक्दा जरीवाना नलिन व्यवसायीहरुले सरोकारवाला निकायलाई आग्रह गरेका छन्। निषेधाज्ञा वैशाख ३० गतेसम्म निरन्तरता दिएको स्थानीय प्रशासनले कर भने २५ गतेसम्म तिर्न ताकेता गरिएको छ। 

निषेधाज्ञा सुरु भएपछि आर्थिक कारोवार ठप्प प्रायः छ। दाल, चामल औषधि लगायत उद्योग सञ्चालन गर्न अनुमति दिएपनि प्रायः उद्योग व्यवसाय बन्द छन्। कर कार्यालय पुगेर लाइन लागेर कर बुझाउने परिस्थिति पनि छैन। व्यवसाय सञ्चालन र घर बाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले कर तिर्न ताकेता गर्नु अव्यावहारिक भएको अध्यक्ष बोगटीले बताए।

श्रमिकलाई व्यवस्थापन गर्न नसक्ने अवस्थामा रहेका उद्योगी व्यवसायीले तत्काल कर तिर्न सम्भव नभएको बताएका छन्। अत्यावश्यक उद्योग पनि राम्रोसँग चलेका छैनन्। कर तिर्ने समय केही पर सार्नुको विकल्प नभएको व्यवसायीहरुको भनाइ छ। उद्योगी व्यवसायीसँगै बैंकिङ प्रणाली पनि पूर्ण रूपमा चलेको छैन। डिजिटल प्रणाली चुस्त छैन। 

यस्तो अवस्थामा २५ गतेभित्र कर तिर्न परिस्थिति व्यवसायी अनुकुल नभएकाले पुनरविचार गर्नुपर्ने निजी क्षेत्रको भनाइ छ। यस्तो अवस्थामा कुनै पनि व्यवसायीलाई जरिवावाना गर्न नहुने नेपाल चेम्बर अफ कमर्श कैलालीका अध्यक्ष मोहनराज शर्माले बताए।

उद्योग व्यवसाय बन्दले कर्मचारीलाई समेत तलब दिन मुस्किल परिरहेको अवस्थामा २५ गतेभित्रै कर बुझाउन आन्तरिक राजस्व कार्यालय धनगढीले ताकेता गरेको छ। ५२ हजार करदाता रहेको सुदूरपश्चिम प्रदेशमा राजस्व कार्यालयले चैत महिनामा गरेको कारोवारको राजस्व बुझाउन ताकेता गरेको हो। 

कर दाखिलाको म्याद थप्ने निर्णय नभएको आन्तरिक राजस्व कार्यालय धनगढीले बताएको छ। निषेधाज्ञाकै अवधिमा कर बुझाउनुपर्ने सरकारी निर्णयले व्यवसायीलाई विचलित बनाइरहेका बेला आन्तरिक राजस्व कार्यालयले भने कर तिर्नुको विकल्प नभएको बताएको हो। 

तर आन्तरिक राजस्व कार्यालय धनगढीले भने बैंक तथा वित्तीय संस्था सीमित समयका लागि सञ्चालनमा रहेकाले बैंक तथा इ–सेवाबाट भएपनि कर चुक्ता गर्न ताकेता गर्दै आएको हो। चैत महिनामा भएको कारोवारको राजस्व बुझाउन भनेका हौँ, कर अधिकृत हिरानन्द देवकोटाले भने।

यस्तो कठिन अवस्थामा व्यावसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि कर तिर्न समस्या भइरहेको अवस्थामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम ताकेता गर्नुभन्दा स्वास्थ्य सुरक्षाको प्रत्याभूतिसहित आर्थिक क्रियाकलाप चलायमान बनाउन व्यावसायिक वातावरण सिर्जना गर्न तर्फ केन्द्रित हुनुपर्ने माग निजी क्षेत्रले राख्दै आएको छ।

कमेन्ट लोड गर्नुस