भारतवाट फर्किरहेकाहरुको चाहना : अवसर पाए सीपको घरमै उपयोग गर्ने
दशैँका लागि घर फर्किरहेका धनगढीको फुलबारीका प्रकाश भट्टलाई भारतको पुना र खाडी मुलुकका होटेलमा क्षेत्रमा काम गर्न थालेको दशक भईसकेको छ। भारतमा १५ हजार रुपैया तलबमा कुकको काम गर्दै आउनुभएका भट्टसँग राम्रो सीप छ। तर नेपालमा काम अनुसार दाम र होटल क्षेत्र अस्तव्यस्त भएकै कारण काम गर्न नसकिएको भट्टको गुनासो छ। उनिसँगै काम गर्दै आउनुभएका फुलबारीकै रामकृष्ण जोशीले पनि यहाँको होटलहरुको अस्तव्यस्तताकै कारण स्वदेशमा काम गर्न नसकेको बताए।
हातमा सीप र मनमा स्वदेशमै सीपको सदुपयोग गर्ने ईच्छा भएर पनि विभिन्न कारणले पराईको देशमा काम गर्नुपरिरहेको गुनासो गर्ने युवाहरु अब भने स्वदेशमै काम गर्न इच्छुक देखिएका छन्। त्यसका लागि होटल क्षेत्रमा भएका केही कमी कमजोरीहरुलाई सुधार गर्नुपर्ने सुझाव उनीहरुको छ। भारतको राजस्थानमा कुकको काम गर्दै आउनुभएका डोटीका सुरेश बटला अवसर र उचित दाम मिलेमा भारतमा सिकेको सीपको सदुपयोग गर्न तयार रहेको बताए।
हुन त भारतमा काम गरी सीपसँगै थोरै पैसा कमाउन सफल भएकाहरु स्वदेशमै आफ्नै व्यवसाय सुरु गरेर सीपको सदुपयोग गर्ने योजना बनाएर फर्किएका छन्। तर त्यो संख्या न्युन छ। लामो समयदेखी भारतको होटलमा काम गर्दा चाइनिज फुड बनाउन सिक्नु भएका कैलालीको गौरीगंगाका अमर बहादूर विक आफ्नै व्यवसाय सुरु गरेर सीपको सदुपयोग गर्ने योजनाका साथ दशैँ मान्न घर फकिएका छन।
भारतमा रहदा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने इच्छा हुदाहुदै पनि उचित ठाँउ नपाउदा पलायन हुनुपर्ने वाध्यता रहेको छ। सुदुरपश्चिम प्रदेशमा ठुलो जनशक्ति भारतका होटल रेष्टुरेन्टमा पसिना बगाइरहेका बेला स्वदेशी होटेल व्यवसायीहरुको ध्यान यसतर्फ पुग्न सकेको छैन्।
हिन्दु नेपालीहरुको महान चाड दशैँ सुरु भएसँगै कैलाली कञ्चनपुरका सीमा नाकामा भारतबाट घर फर्किनेहरुको लर्को लाग्न थालेको छ। परिवार र आफ्नो दैनिकी चलाउन कामका सिलसिलामा भारतका विभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीहरु दशैँ मनाउन घर फर्किन थालेका हुन्। लामो समयदेखि भारतको होटल क्षेत्रमा काम गर्दै आएकाहरु पनि दशैँ विदा लिएर घर फर्किरहेका छन्। नेपालका होटेलमा दक्ष जनशक्तीको अभाव देखिएका बेला अवसर र उचित पारिश्रमिक पाएमा भारतमा सिकेको सीपको उपयोग गर्ने घर फर्किएका सुदुरपश्चिमेलीहरुको चाहना रहेको छ। तर स्वदेशी होटेल व्यवसायीहरुले काम अनुसारको दाम नदिएकै कारण पलायन हुनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ।