सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सुपर लिगः १० अंक बटुल्दै धनगढीे शीर्षस्थानमा

२०७८ वैशाख २३, ०८:४३

काठमाडौँ - धनगढी एफसीले अघिल्ला चार खेलमा सात गोल गरेको थियो । त्यसमध्ये चार गोल नाइजेरियन फरवार्ड ओलावाले आफिज एक्लैले गरेका थिए । उनले पोखरा थन्डर्सविरुद्ध चोट बेहोर्दै पहिलो हाफमै मैदान छाडे ।

उनीबिना धनगढीको प्रदर्शन राम्रो भएन । पोखरा बलियो देखियो । तर, दर्शन गुरुङको गोलमा १–० को जित निकाल्दै बुधबार धनगढी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुग्ने पहिलो टिम भएको छ ।

धनगढीले पूरा खेलमा दुईपल्ट पोखराको पोस्टमा आक्रमण र्गयो । दुवै आक्रमण दर्शनले गरे । अग्रपंक्तिका मुख्य खेलाडी आफिज घाइते भएपछि ३७ औं मिनेटमा मैदानमा छिरेका उनले पहिलो प्रहार ६७ औं मिनेटमा गरे। उनले विशाल राईको पासमा पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल पोखराका गोलकिपर दीप कार्कीले रोकिदिए।

लगत्तैको मुभमा बुद्धबल तामाङलाई सटिक ट्याकल गर्दै अजित भण्डारीले बल खोसे । त्यही बललाई डिफेन्डर मनबहादुर तामाङले हेडद्वारा क्लियर गर्ने प्रयास गरेका थिए ।

तर, बल दर्शनको खुट्टामा पुग्यो । उनले नियन्त्रण गरेको बललाई गोलकिपर दीप केही अगाडि बढेको अवसरमा सिधै पोस्टमा प्रहार गरे । करिब २५ यार्डबाट उनले चलाखीपूर्ण रूपमा प्रहार गरेको त्यो बल आकर्षक गोलमा परिणत भएपछि धनगढीले ६८ औं मिनेटमा अग्रता लियो। त्यसपछि पनि पोखराले बलमाथि नियन्त्रण कायमै राख्यो । तर, पाएका अवसर गोलमा परिणत गर्न सकेन।

एनएसएलमा व्यक्तिगत पहिलो गोल गरेपछि दर्शनले भने, ‘दाइ (गोलकिपर दीप) अगाडि बढेर खेलिरहेको देखेको थिएँ अनि बल हाने । गोल हुन्छ भन्ने त लागेको थिएन । तर, दाइ अगाडि बढिरहेको थियो र गोल भयो । धेरै खुसी लाग्यो ।’ सन्दकपुर, इलामका यी २० वर्षीय फरवार्डले थपे, ‘अंकतालिकामा कहिले को, कहिले को माथि आउने भइरहेको छ । सबैको प्रतिस्पर्धा चलिरहेको छ । शीर्ष चारमा आफ्नो टिमको स्थान सुरक्षित गर्न पाउँदा धेरै खुसी लाग्यो ।’

दर्शन गत महिना थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका सदस्य हुन् । दशरथ रंगशालामै भएको उक्त प्रतियोगिताबाट उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनी एनएसएलको सुरुमा आफिजसँगै धनगढीको अग्रपंक्तिमा देखिएका थिए ।

दोस्रो खेलमा उनलाई चोट लाग्यो । त्यसपछि सब्स्टिच्युटको रूपमा मैदानमा ओर्लिए । पाँचौं खेलमा आएर गोलको खाता खोलेका उनले भने, ‘आफैंलाई सहज महसुस भइरहेको थिएन । मनभित्रै किन मैले खेल्न नसकेको भन्ने भइरहेको थियो। तर आजको गोलले आफूलाई साबित गर्न सकें ।’ गत वर्ष सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीबाट खेल्दै चार गोल गरेका उनले नेपालको यू–१६ र यू–१९ टिमबाट पनि खेलिसकेका छन्। कान्तिपुरबाट

कमेन्ट लोड गर्नुस