सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अस्पतालमा भ्याक्सिन नपाएका बिरामीको अवस्था गम्भीर बन्दै, खोप पाएकाहरु कम जोखिममा

२०७८ वैशाख २२, १२:३९ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कोरोना भाइरस विरुद्धको खोपले संक्रमण हुनबाट बचाउँछ। भ्याक्सिन नपाएका, तर कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीको अवस्था गम्भीर बन्ने गरेको अधिकारीहरु बताउँछन्। 

खोप सेवा प्राप्त गरेका बिरामीमा जोखिम सम्भावना अत्यन्त न्यून रहेको विज्ञहरुले बताएका छन्। नेपालमा कोरोना भाइरस विरुद्धको खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ। विज्ञहरुले भने कोरोना भाइरसबाट बच्न र बचाउन भ्याक्सिनको विकल्प नभएको बताइरहेका बेला करिब २८ लाख जनसंख्या रहेको सुदूरश्चिम प्रदेशमा भने ३० हजारलाई मात्र दोस्रो चरणको भ्याक्सिन लगाएको पाइएको हो।

संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरिरमा कति लामो समयसम्म रहन्छ भन्ने एकिन नभएपनि विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि संक्रमण हुनसक्ने भन्दै अनिवार्य खोप लगाउन भनेको छ। खोप लगाएका केही व्यक्तिहरुमा कोरोना संक्रमण भएपनि गम्भीर पर्ने सम्भावना निकै कम भएको अधिकारीहरुले बताएका हुन्।

भ्याक्सिन लगाएका बिरामीले अति जोखिममा पर्ने सम्भावना अत्यन्त न्यून अर्थात शुन्य दशमलव २ प्रतिशत मात्र रहन्छ। ‘कुनैपनि खोप शतप्रतिशत हुँदैन, तर कोरोना भाइरसविरुद्धको खोप निकै प्रभावकारी देखिएको छ’ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने। 

खोप सेवा प्राप्त गरेकाहरुमध्ये केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको भएपनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गरेको खण्डमा सुरक्षित जीवन बाँच सकिने स्वास्थ्य चिकित्सकको सल्लाह छ।

यद्यपि ठूलो जनसंख्या खोप सेवा पाउनबाट बञ्चित भइरहेको अवस्थामा खोप अभियानलाई निरन्तरता दिएर १८ वर्ष भन्दा माथिका हरेक नागरिकले लगाउनु आवश्यक छ। संक्रमण भइहाले पनि यसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउँदै नेपाल मेडिकल एशोसियसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष डाक्टर प्रदिप मिश्रले कोरोना भाइरसबाट बच्न अक्सिजन, बेड र भ्याक्सिनको विकल्प नभएको बताए।

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरेको भ्याक्सिन विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगको लागि सिफारिस गरेको हो। 

नेपाललाई भारतबाट अनुदानमा कोभिशील्डको १० लाख मात्रा प्राप्त भएकोमा करिब २८ लाख जनसंख्या भएको सुदुरपश्चिममा सुरुवाती चरणमा २ लाख र दोस्रो चरणमा ३० हजार जनसंख्यालाई मात्र खोप प्राप्त हुँदा कोरोना भाइरसबाट ग्रसित विरामीलाई जोगाउन समस्या भइरहेको छ। 

संघीय सरकारले खोप सेवा उपलब्ध नगराएका कारण सुदूरपश्चिम प्रदेशभित्र ठुलो जनसंख्या यसबाट बञ्चित रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। खोप व्यवस्थापनको जिम्मा संघीय सरकारलाई भएकाले हामीले चाहेर पनि केहि गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ।

दैनिक हजारौँको संख्यामा संक्रमितहरु बढिरहेको बेला अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव देखिएको छ। अनुदानमा प्राप्त गरेको भ्याक्सिन सकिएको लामो समय वितिसक्दा पनि बाँकी आपूर्तिका लागि सरकारी तयारी शुन्य देखिएको छ।
 

कमेन्ट लोड गर्नुस