सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा हिउँदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

२०७८ वैशाख २०, ०४:१७ रासस

बझाङ: लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिउँदेबालीको उत्पादनमा क्मी आएको छ। 

जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा क्मी आएको छ। लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा क्मी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ। 

यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताए। “हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो। सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो। एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’’, उनी भन्छन्। 

यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए। प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उनी जोड दिन्छन्।

आकासेपानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन्। खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदेबाली लगाएकामा छ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले नौ हजार ३३६ मेट्रिक टन हिउ“दे बाली पूर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए। 

जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ। सिँचाइ नभएको ठाउ“मा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ। जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ। यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ। 

खडेरीका कारण जिल्लाको कुल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई चरम खाद्य सङ्कट हुने विष्टले बताए। यसपालि खडेरीले उत्पादनमा क्मी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ। 

कमेन्ट लोड गर्नुस