सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका तीन पालिकामा ‘स्मार्ट एप’ सञ्चालनमा ल्याइँदै

। फोटो स्रोत ।
२०७८ वैशाख २०, १२:०६ रासस

डोटी: जिल्लाका तीनवटा पालिकामा ‘स्मार्ट पालिका एप’ सञ्चालन गरिएको छ।

जिल्लाका जोरायल, केआइसिंह गाउँपालिका र शिखर नगरपालिकामा स्मार्ट पालिका एप्लिकेशन तयार गरी सञ्चालनमा ल्याउन थालिएको हो। युरोपियन युनियन र डिसिएको आर्थिक सहयोगमा सम विकास केन्द्र डोटीमार्फत सञ्चालित परिर्वतन परियोजनाले निर्माण गरेको ‘स्मार्ट पालिका एप’ ती पालिकामा हस्तान्तरण गरिएको हो। 

पालिकामा सुशासन कायम गर्नका लागि पालिकासँगको समन्वयमा गाउँपालिका तथा नगरपालिकाले गरेका कामको विद्युतीय प्रविधिमार्फत नागरिकलाई सूचना प्रवाह गर्ने र नागरिकका समस्या पनि सोही प्रविधिमार्फत स्थानीय सरकारसमक्ष पु¥याउने उद्देश्यका साथ एप निर्माण गरिएको परिवर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले बताए।

घरमै बसेर पालिकामा भइरहेका काम कारवाही तथा प्रगतिबारे नागरिकले सहज ढङ्गबाट एप्लिकेशनमार्फत सूचना पाउने भएका कारण पालिकाका नागरिकका लागि उक्त एप धेरै उपयोगी हुने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए। उनले भने, “सहज ढङ्गबाट सूचना पाउने भएकाले यो एपले नागरिकलाई निकै फाइदा हुने अपेक्षा लिएका छौँ, अब सञ्चालनमा आएपछि अन्य कुरा बुझिने छ।”

सम विकास केन्द्रका सूचना अधिकारी पदम मिजारले पहिलो चरणमा जिल्लाका तीन पालिकालाई हस्तान्तरण गरिएको एप्लिकेशन निकट भविष्यमै सञ्चालन हुने बताए। ‘स्मार्ट पालिका एप’मा सम्बन्धित पालिकाको जानकारी समावेश गरिएको बहुउपयोगी एप्लिकेशन भएको उनको भनाइ छ।

सूचना र प्रविधिको उपयोग गरेर पालिकाले गरेका कामका सम्पूर्ण सूचना हेर्न र पालिकाको व्यक्तिगत विवरणसहितको समग्र प्रोफाइल हेर्न पाइने छ। सेवाग्राहीले पञ्जीकरण (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ) सम्बन्धीका व्यक्तिगत घटना घरबाटै एपमार्फत गर्न सकिने छ। 

जनप्रतिनिधि तथा कर्मचारीसँग सिधै गुनासो राख्न सकिने र सोहीमार्फत जवाफ दिन पाइने भएकाले यो एप निकै उपयोगी हुने केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए। पालिकामा हस्तान्तरण गरिएको एपले पालिकाको कामकाज गर्नका लागि छिटोछरितो तथा प्रभावकारी हुनुका साथै स्थानीय सरकारलाई योजना निर्माणमा पनि सहज हुने विश्वास लिइएको जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले बताए। 

उनका अनुसार यो एप्लिकेशनमार्फत नागरिकको अपेक्षा र सरकारले गरिरहेको काम दुवै पक्षलाई जानकारी हुनेछ भने विद्युतीय सुशासन प्रविधिले नागरिक र स्थानीय सरकारबीचको सम्बन्धमा सुधार हुनेछ।

कमेन्ट लोड गर्नुस