सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइसोलेसन वार्ड बनाउँदै अछामका स्थानीय तह

फोटो: मेनुका ढुंगाना
फोटो: मेनुका ढुंगाना
२०७८ वैशाख १९, १२:२५ खबर संवाददाता

अछाम: अछामका १० वटै स्थानीय तहले आइसोलेसन वार्ड बनाउन थालेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले प्रत्येक पालिकाले १० बेडसहितको आइसोलेसन वार्ड अनिवार्य गराउने निर्णय गरेपछि उनीहरू जुटेका हुन् ।

सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले ४० बेड क्षमता भएको आइसोलेसन वार्ड तयार पारेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीका अनुसार कृषि ज्ञान केन्द्रको भवनलाई आइसोलेसन वार्ड बनाएको हो। सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा बसाउने र जटिल संक्रमितलाई मंगलसेनमा रहेको आइसोलेसनमा ल्याइने उनले बताए। उनले भने, ‘प्रत्येक वडामा गएर एन्टिजेन विधिबाट कोरोना परीक्षण शनिबारबाटै सुरु गरेका छौं।’

साँफेबगर नगरपालिकाले पनि बयालपाटा अस्पतालमा आइसोलेसन वार्ड तयार पारेको छ। बयालपाटा अस्पतालमै अक्सिजन उत्पादन गर्ने प्लान्ट भएकाले सबै बेडलाई अक्सिजनसहित व्यवस्थापन गर्न थालिएको नगरप्रमुख कुलबहादुर कुँवरले बताए। उनका अनुसार नगरपालिकाले ५ वटा अक्सिजन उत्पादन गर्ने मेसिन खरिद गर्न थालेको छ।

स्वास्थ्य सामग्री जताततै अभाव हुन थालेपछि सोचेअनुसार तीव्र रूपमा व्यवस्थापन गर्न नसकिएको उनले बताए। ‘अक्सिजन उत्पादन बयालपाटा अस्पतालले गर्छ। हामी मेसिन किन्दै छौं। तत्काल ५ वटा मेसिन खरिदको प्रक्रियामा छौं,’ उनले भने, ‘एउटा मेसिनको मूल्य १ लाख ४५ हजार रहेछ। हामीले अन्य स्वास्थ्य सामग्री खरिदका लागि पनि तयारी थालेका छौं।’

कोरोना परीक्षण गरिएकोमध्ये धेरैलाई कोरोना पोजिटिभ देखिन थालेको उनको भनाइ छ । समुदायकै व्यक्तिलाई कोरोना देखिन थालेपछि अवस्था गम्भीर हुन सक्ने आकलन उनको छ। ‘जिल्लामा १५ सय थान एन्टिजेन केन्द्र सरकारले उपलब्ध गराएको थियो। सबै स्थानीय तहलाई अलिअलि भागमा पर्‍यो,’ कुँवरले भने, ‘भारतबाट आएकालाई होम क्वारेन्टाइनमा पठाउन र संक्रमितलाई घरमै बसाउन केन्द्रको निर्देशन छ।

सरकारका यस्ता निर्णयले स्थानीय तहलाई समेत अप्ठ्यारो पारेको छ।’ एन्टिजेन विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएका व्यक्तिलाई पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिन थालेपछि धेरैले पीसीआर नै परीक्षण गर्न खोजेको उनको भनाइ छ।

कमलबजार नगरपालिकाले ३० बेडसहितको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको नगर प्रमुख ओमप्रकाश विष्टले बताए। कोरोना परीक्षणका लागि स्वास्थ्य सामग्री खरिद गर्न आफैं कैलालीमा गएको उनले जनाए।

‘आइसोलेसन वार्ड तयार भयो। पीसीआर परीक्षणका लागि भीटीएम किट र अन्य सामग्री खरिदका लागि यतिखेर म कैलालीमा छु,’ उनले भने, ‘स्वास्थ्य सामग्रीको चरम अभाव देखियो। एकातिर तत्काल कोरोना परीक्षण गरेर समुदायको अवस्था जानकारी लिनुपर्ने चुनौती छ। अर्कोतिर स्वास्थ्य सामग्री खरिद गर्न खोज्दा पनि पाइएको छैन।’

ढकारी गाउँपालिकाले पनि १० बेडसहितको आइसोलेसन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए। उनका अनुसार समुदायमै गएर कोरोना परीक्षण गर्ने तयारी थालिएको छ। चौरपाटी गाउँपालिकाले भने विद्यालयलाई आइसोलेसन वार्ड बनाएको जनाएको छ। यो खबर मेनुका ढुंगानाले कान्तिपुरमा लेखेकी छिन्। 

कमेन्ट लोड गर्नुस