डडेल्धुरा अस्पताल संक्रमितले भरियोः अस्पतालले भन्छ, ‘अब संक्रमितको उपचार गर्नसक्ने अवस्था छैन’
डडेल्धुरा: डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको जनाएको छ। एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो।
‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले यस्तो दिनसँग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं, तत्काल थप बिरामीहरूलाई भर्ती गर्न नसक्ने वास्तविकतामा पुगेका छौं,’ सूचनामा भनिएको छ। अस्पतालमा भएका बिरामी निको हुनेवित्तिकै नयाँ केस भर्ने अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र विष्टले अक्सिनजले धान्न नसकेर बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताए।
‘अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्नेछौं। बेड मात्र भएर के गर्ने अक्सिजन अभाव भइसक्यो,’ उनले भने। अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ। त्यसले दैनिक ११ जनालाई मात्रै अक्सिजन दिनसक्ने क्षमता रहेको मेसु विष्टले बताए।
‘प्लान्टबाट दैनिक २७ सिलिण्डर भर्ने क्षमता हो, जसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ। तर अहिले १६ जनालाई अक्सिजन दिएका छौं,’ उनले भने।
अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पु¥याउने व्यवस्था गरेको छ। डडेल्धुरा अस्पतालमा अहिले १६ जना कोभिड सक्रमित बिरामी छन्। तीमध्ये ३ भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ। अस्पतालमा आइसियू बेड ८ र एचडियू गरेर २१ बेड कोरोना संक्रमितका लागि तयार छ।
डडेल्धुरा अस्पताल संघीय सरकार मातहत रहेको प्रदेशको एक मात्र अस्पताल हो।