सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कोभिड अस्पतालको हविगतः बिरामी भन्छन्, ‘शौचालयमा उभिन सकिँदैन, डाक्टर नदेखेको ४ दिन भयो’

२०७८ वैशाख १७, ०४:०३ आशिष मल्ल

धनगढी: धनगढीका सुवास भट्ट आफ्नी आमाको उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगे।

कोरोना भाइरसको संक्रमण पुस्टि भइसकेपछि उनलाई अस्पतालकै छेउमा स्थापना गरिएको अस्थायी कोरोना अस्पतालमा भर्ना गरियो। 

यहि बैशाख १३ गते भर्ना भएका सुवासले त्यहिदिन अस्पतालका चिकित्सकलाई भेटेका थिए। तर आज ४ दिनभइसक्दा उनकी आमालाई हेर्न कोही पनि चिकित्सक नआएको उनले गुनासो गरे।

‘भर्ना भएको ४ दिनसम्म  हामीले डाक्टरको अनुहार देखेका छैनौं। यहाँ केवल ३/४ जना नर्स छन्’ उनले भने, ‘पीडाले छट्पटाइरहेका बिरामीको गुहार सुन्दा सुन्दा ती नर्सहरु आफै थकित देखिन्छन्।  गाली गरौं, कसलाई गरौं।’

यस्तै अस्पताल भित्रको व्यवस्थापन समेत फितलो भएको एक बिरामीले बताए। अस्पताल भित्र बिग्रीएका उपकरण राखिएको र सरसफाई पनि दिनको एक पटक मात्रै हुने गरेको उनले दिनेशखबरलाई सुनाए। 

‘न यहाँ सुविधायुक्त बेड छन्। न त सरसफाई। डस्टबिन फोहोरले भरिएका छन्। चारैतिर दुर्गन्ध आएको छ’ अर्का बिरामी कुरुवा रमेश मल्ल(नाम परिवर्तन)ले भने, ‘हात धुने भेसिन टालिएर भरिएका छन्। दुर्गन्धित शौचालयमा उभिन नसक्ने अवस्था छ। प्रदेश सरकारले दिएको सेवा यहि हो र ?’ 

यस्तै अर्का बिरामी कुरुवाले प्रदेश सरकारले सुविधासम्पन्न कोरोना अस्पतालको नाममा आकाशे ‘स्विमिङ पुल’ र ‘ल्यान्डफिल साइट’ बनाएको आरोप लगाएका छन्। 

यस्तै सामाजिक विकास मन्त्रालयको आँखा अगाडिको कोभिड अस्पतालमा कोरोना फैलिएको झन्डै डेढ वर्ष हुँदा समेत अक्सिजन आपूर्तिको सहज व्यवस्था नहुँदा अक्सिजन सिलिण्डर बोकेर लैजानुपर्ने अवस्था रहेको उनले बताए।

आफु अक्सिजन ल्याउन जान लागेको बताउँदै उनले भने, ‘गाडीमा अक्सिजन आउँदा बिरामीका कुरुवाहरुले लुछाचुडी गर्ने अवस्था छ’ उनले प्रश्न गर्दै भने, ‘दुःख पोखौं कसलाई पोखौं ?’

गत वर्ष सेती प्रादेशिक अस्पताल मातहत रहने गरी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरेको कोभिड अस्थायी अस्पताल अहिले संक्रमितले भरिएको छ। यस्तै केही संक्रमित र सम्भावित संक्रमितलाई अस्पतालको इमर्जेन्सी वार्डमै राखेर उपचार गर्नुपर्ने अवस्था छ। 

बिहीबारसम्म इमर्जेन्सी वार्डमा रहेका १६ शय्या पनि भरिएपछि बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसिरहेको अस्पतालले जनाएको छ। 

गत वर्ष बनाइएको एउटा मात्रै कोभिड अस्थायी अस्पतालमा रहेका ५५ शय्यामा अहिले ६० जना उपचाररत छन्। उनीहरूमध्ये १२ जना आईसीयू, ३ जना भेन्टिलेटर, ३५ जना अक्सिजन सपोर्ट र १० जनालाई अवस्थाअनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताएका छन्। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस