टीकापुर अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द
टीकापुर: कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।
कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएको छ।
अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन्। “कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ”, टीकापुर अस्पतालका डा रमेशप्रसाद उपाध्यायले भने, “कोरोना सङ्क्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन। अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ। अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन।”
उनले अस्पतालमा दैनिक १५ जना बढी कोरोनाको लक्षणका बिरामी आउन थालेकाले अस्पतालमा थप जोखिम बढेको बताए। “हामीले समस्या भएमा बिरामीले फोनबाट परामर्श लिनसक्ने व्यवस्थाका लागि चिकित्सकहरूको मोबाइल नम्बर बाँडेका छौँ। सामान्य समस्या भएकालाई टेलिफोनमै परामर्श लिन भनेका छौँ”, उनले भने, “यस्तो विपत्तिमा नागरिकलाई खानपानमा ध्यान दिन, सुरक्षित रहन आग्रह गर्ने हो। श्वासप्रश्वासमा समस्या भए यहाँ अक्सिजन पाउन मुश्किल छ।”
टीकापुर अस्पतालले १५ शय्याको अक्सिजनसहितको कक्षसमेत सञ्चालन गरेको छ।